काठमाडौं, १४ फागुन । संघीय समाजवादी फोरम, नेपालले संविधान संशोधन गर्ने राजनीतिक प्रतिवद्धता जनाएमात्रै सरकारमा सहभागी हुने स्पष्ट पारेको छ ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ एमाले र माओवादी केन्द्रले संविधान संशोधन गरी आफूहरुले विगतमा उठाउँदै आएको समस्या समाधान गर्ने राजनीतिक प्रतिवद्धता जनाएमात्रै सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् ।
सोमबार पार्टी केन्द्रिय कार्यालय तीनकुनेमा पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि संचारकर्मीमाझ कुरा गर्दै उनले सरकारमा सहभागी हुने कुरा संविधान संशोधन र पार्टीले विगतमा उठाउँदै आएको मागसँग जोडिएकाले त्यसको सम्बोधन नभई सरकारमा नजाने उनले बताए । फोरमले सरकारमा सहभागी नभएपनि सरकारलाई साथ दिने प्रतिवद्धता जनाउँदै आएको छ ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय समाजवादी फोरम, नेपाललाई सरकारमा आउन आग्रह गर्दै आएका छन् । दुवै पार्टीबीच यादवलाई परराष्ट्रमन्त्री बनाउने अनौपचारिक सहमति समेत भईसकेको छ ।