को हुन् नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडा ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

को हुन् नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडा ?

yubraj

काठमाडौं, १४ फागुन । आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको सरकारको अर्थमन्त्रीको साँचो डाक्टर युवराज खतिवडाले पाएका छन् । आर्थिक विकासलाई तीव्रता दिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली अर्थतन्त्रलाई निकै नजिकबाट बुझेका खतिवडालाई अर्थ मन्त्रालयको चाबी सुम्पेका छन् । अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका विभिन्न निकायमा उच्च तहमा बसेर काम गरेका खडिवडा अब समृद्धि अभियानलाई पार लगाउने जिम्मेवारीमा पुगेका छन् ।

नेपाली अर्थतन्त्र अहिले विप्रेषणले धानेको छ । निर्यातभन्दा आयात कैयौँ गुणा बढी भएकाले व्यापार घाटा चुलिँदो छ । नेपालले पुस मसान्तसम्ममा कुल ४१ अर्ब १४ करोडको वस्तु निर्यात गरेको थियो भने पेट्रोलियम पदार्थमात्र झन्डै दोब्बर अर्थात ७५ अर्ब २० करोड रुपैयाँ बराबरको आयात गरेको छ । यसबाहेक भारतबाट वार्षिक १७ अर्ब रुपैयाँ बराबरको बिजुली पनि आयात हुने गरेको छ । विकासे आयोजनाहरुको गति अत्यन्तै सुस्त छ । उद्योग धन्दामा समस्यै समस्या छन् । हालै मुलुक संघीय प्रणालीमा गएको छ ।

यसका लागि खर्च व्यवस्थापन गर्नुपर्ने चुनौती पनि छ । यी सबै कार्यका लागि खासगरी अर्थमन्त्री योग्य र समाधान पहिल्याउन सक्ने व्यक्ति हुनु आवश्यक थियो । यसअघिको प्रचलन अपवादबाहेक राजनीतिक पृष्ठभूमि भएका व्यक्तिलाई नै अर्थमन्त्री बनाउने थियो ।

तर, नेपाली अर्थतन्त्रबारे विज्ञ डाक्टर खतिवडालाई ओली सरकारले अर्थ मन्त्रालय दिएरै भित्र्याएको छ । खतिवडाको पृष्ठभूमि हेर्दा पनि अर्थमन्त्रीका लागि उनी योग्य देखिन्छन् । यद्यपि, उनले आगामी दिनमा गर्ने कामले उनको क्षमता निर्धारण गर्ने नै छ ।

को हुन खतिवडा
खतिवडाको जन्म २०१९ सालमा भएको हो । विक्रम सम्बत २०३८ र २०४१ मा त्रिभुवन विश्वविद्यालयबाट क्रमशः अर्थशास्त्र र लोक प्रशासनमा डिग्री गरेका खतिवडाले २०४८ मा दिल्ली स्कूल अफ इकोनोमिक्सबाट मौद्रिक अर्थशास्त्रमा पीएचडी गरेका छन् । २०५० मा महेन्द्र विद्या भुषण तथा २०५७ सुप्रबल गोर्खा दक्षिण बाहु प्राप्त गरेका खतिवडाले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षण र विकास सम्बन्धी मुद्दा तथा कार्यक्रमहरूको सेमिनारमा भाग लिएका छन् ।

 ५५ वर्षिय खतिवडासँग सरकारको आर्थिक सल्लाहकारका रुपमा रहने नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको प्रमुखदेखि गभर्नर भएर काम गरेको अनुभव छ । उनले यूएनडीपी रिजनल सेन्टरमा वरिष्ठ अर्थशास्त्रीका रुपमा पनि काम गरिसकेका छन् ।

खतिवडा वि.सं.२०५९ देखि २०६२ सम्म राष्ट्रिय योजना आयोगमा उपाध्यक्षसमेत भएका थिए । विक्रम सम्बत २०३८ सालमा मा त्रिभुवन विश्वविद्यालयमा एक स्नातकोत्तर शिक्षक र २०४७ देखि २०४८ सम्म त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा एक अतिथि संकाय सदस्यको रूपमा पनि खतिवडाले काम गरिसकेका छन् ।

तीन तहको निर्वाचन सम्पन्न भएपछि गठित बलियो सरकारमा अहिले खतिवडाले अर्थमन्त्री बन्ने अवसर प्राप्त गरे । यो उनका लागि चुनौती र अवसर दुबै हुन सक्छ । आगामी दिनमा उनले गर्ने काम र त्यसबाट मुलुकले प्राप्त गर्ने उपलब्धिले नै उनको ‘कद’ निर्धारण गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);