काठमाडौँ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ६३ औँ अधिवेशनका क्रममा जेनेभास्थित प्यालेस अफ नेसन्समा ‘सबैका लागि पहुँचयोग्यता’ विषयक प्रदर्शनी आयोजना गरिएको छ । चीनको संयुक्त राष्ट्रसंघ तथा जेनेभास्थित अन्य अन्तर्राष्ट्रिय संगठनका लागि स्थायी नियोग र संयुक्त राष्ट्रसंघको जेनेभास्थित कार्यालयको सहआयोजनामा भएको कार्यक्रममा स्थायी प्रतिनिधि, अन्तर्राष्ट्रिय संगठनका प्रमुख तथा सञ्चारमाध्यमका प्रतिनिधिसहित ३ सय भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै जेनेभास्थित संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनका लागि चीनका स्थायी प्रतिनिधि जिया गाइडले पहुँचयोग्य वातावरणको विकास मानवअधिकार संरक्षणको महत्वपूर्ण पक्ष भएको बताउनु भयो । ‘ग्लोवल गभर्नेन्स इनिसिएटिभ’ बाट निर्देशित हुँदै चीनले संयुक्त राष्ट्रसंघीय मञ्चहरूमा सबैका लागि पहुँचयोग्य वातावरणको अवधारणालाई सक्रिय रूपमा अघि बढाउँदै आएको उल्लेख गर्नुभयो । प्रदर्शनीमा प्रविधि, संस्कृति, रोजगारी, कानुनी शासनलगायत विभिन्न क्षेत्रमा सबैका लागि पहुँचयोग्यता प्रवद्र्धन गर्न चीनले अपनाएका अभ्यास झल्काउने १०० भन्दा बढी सामग्री तथा नमूना प्रदर्शन गरिएको थियो । प्रदर्शनीमा सहभागीहरूले अत्याधुनिक स्मार्ट सहायक उपकरणहरू प्रत्यक्ष प्रयोग गर्दै तिनको अनुभवसमेत लिन पाएका थिए । साथै, अटिजम भएका बालबालिकाले सिर्जना गरेका चित्रकला तथा अपाङ्गता भएका कलाकारहरूले तयार पारेका हस्तकलाका सामग्रीले पनि प्रदर्शनीमा विशेष आकर्षण थपेको थियो ।




