अफगानिस्तानको प्राचीन माटाका भाँडा बनाउने कला अस्तित्वको संघर्षमा | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

अफगानिस्तानको प्राचीन माटाका भाँडा बनाउने कला अस्तित्वको संघर्षमा

अफगानिस्तानको राजधानी काबुलको उत्तरमा रहेको इस्तालिफ जिल्लामा पुस्तौँदेखि चलिआएको माटाका भाँडा बनाउने परम्परा अहिले संकटमा परेको छ । करिव चार शताब्दीदेखि फस्टाउँदै आएको यो हस्तकला स्थानीय संस्कृति र धेरै परिवारको जीविकोपार्जनसँग जोडिएको छ । नूर अहमद आफ्ना बुबा र हजुरबुबाबाट विरासतमा पाएका औजार प्रयोग गर्दै हातैले कचौरा, थाल, कपलगायत विभिन्न भाँडा बनाउँछन् । उनका लागि प्रत्येक तयार वस्तु केवल बिक्रीका लागि उत्पादन होइन, पुस्तौँ पुरानो परम्परालाई निरन्तरता दिने माध्यम पनि हो । तर पछिल्ला दशकमा इस्तालिफको माटाका भाँडा उद्योगमा ठूलो गिरावट आएको छ । अहमदकाअनुसार विगतमा ३०० भन्दा बढी माटाका भाँडा बनाउने कार्यशाला रहेकामा अहिले संख्या घटेर करिव ४० वटा मात्र बाँकी छन् । ती कार्यशालाले भने महिलासहित २०० भन्दा बढी व्यक्तिलाई रोजगारी तथा आम्दानीको स्रोत प्रदान गरिरहेका छन् । माटाका भाँडा बनाउने प्रक्रिया विशेष प्रकारको माटोलाई पानीसँग मिसाएर सुरु हुन्छ । मिश्रण तयार भएपछि परम्परागत औजार प्रयोग गरी विभिन्न आकार दिइन्छ । त्यसपछि भाँडालाई भट्टीमा पकाइन्छ र अन्त्यमा विशेष रंग तथा डिजाइनले सजाएर बजारमा बिक्रीका लागि तयार गरिन्छ । इस्तालिफमा माटाका भाँडा बेच्ने वैस नजारी बाल्यकालदेखि नै यस व्यवसायमा संलग्न छन् । उनी परम्परागत कला जोगाउनुका साथै यही कामबाट आफ्नो परिवारको पालनपोषण गर्दै आएका छन् । १० सदस्यीय परिवारका एकमात्र कमाउने व्यक्ति नजारीले आफ्नो कामप्रति गर्व व्यक्त गर्दै मासिक १५ हजारदेखि २० हजार अफगानीसम्मको विक्री हुने बताए । यो करिव ३१० अमेरिकी डलरसम्म बराबर हुन्छ । काबुलबाट बजार पुगेका उस्मान अहमदीले पनि इस्तालिफका माटाका भाँडाको गुणस्तर र आकर्षक डिजाइनको प्रशंसा गरे ।
केही दशकअघिसम्म अफगानिस्तानका विशेषगरी मध्य तथा उत्तरी प्रान्तमा माटाका भाँडा दैनिक जीवनमा व्यापक रूपमा प्रयोग हुन्थे । घरायसी प्रयोजनका विभिन्न काममा प्रयोग हुने यी भाँडालाई धेरै मानिसले सौन्दर्य र सांस्कृतिक महत्त्वका साथै प्राकृतिक सामग्रीबाट बनेका कारण उपयोगी मान्थे ।
तर समयसँगै सिसा, प्लास्टिक तथा अन्य आधुनिक सामग्रीले परम्परागत माटाका भाँडाको स्थान लिन थाले। यसले माग घटाउनुका साथै यस व्यवसायमा निर्भर कारीगर तथा विक्रेताका अवसर पनि सीमित गरेको छ ।
यस्ता चुनौतीका बाबजुद कारीगर र व्यापारीहरूले यो परम्परागत कला जोगाउन थप सहयोग आवश्यक रहेको बताएका छन् । उनीहरूले उपयुक्त उत्पादन सुविधा, बजार प्रवद्र्धनमा सहयोग तथा घरेलु र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न आग्रह गरेका छन् ।
उनीहरूकाअनुसार यस्तो सहयोगले माटाका भाँडा उद्योगलाई टिकाइराख्न, अफगानिस्तानको सांस्कृतिक सम्पदा संरक्षण गर्न र पुस्तौँदेखि चलिआएको यो परम्परालाई आगामी पुस्तासम्म निरन्तरता दिन मद्दत गर्नेछ ।

Leave a Reply