पूर्वी डीआर कंगोको बुकाभुमा शोक, आगलागीका पीडितको अन्त्येष्टि | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

पूर्वी डीआर कंगोको बुकाभुमा शोक, आगलागीका पीडितको अन्त्येष्टि

डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआर कंगो)को बुकाभु शहरमा सोमवार शोक छाएको थियो । गत साता घना बस्तीमा भएको भीषण आगलागीमा ज्यान गुमाएका व्यक्तिहरूलाई अन्तिम बिदाइ दिन हजारौँ स्थानीय बासिन्दा भेला भएका थिए । स्मृति तथा श्रद्धाञ्जली समारोहमा शोकाकुल परिवारहरू आँशु र पीडासहित सहभागी भएका थिए । समारोहस्थलमा २८ वटा शवपेटिका सँगसँगै राखिएका थिए । त्यसपछि मृतकहरूलाई अन्तिम संस्कारका लागि समाधिस्थल लगिएको थियो । शहरमा हाल नियन्त्रण कायम राखेको पक्षकाअनुसार सोमवार अन्त्येष्टि गरिएकामध्ये २६ जना विद्यार्थी र दुई शिक्षक थिए । उनीहरूको मृत्यु घना बस्ती, घर र विद्यालयले भरिएको क्षेत्रमा आगो तीव्र रूपमा फैलिँदा भएको बताइएको छ । बिहानैदेखि अल्फाजिरी कलेजतर्फ जाने सडकहरूमा ठूलो भीड लागेको थियो। परिवार, शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दाहरू अन्तिम बिदाइका लागि त्यहाँ जम्मा भएका थिए । शोकमा सहभागी हुन बुकाभुको केही क्षेत्रमा पसल तथा बजारसमेत बिहान बन्द गरिएको थियो । पीडित परिवारका लागि यो समारोहले केही दिनदेखि जारी रहेको पीडा र स्तब्धतालाई झन् कठोर वास्तविकतामा परिणत गरिदिएको थियो ।
समाधिस्थलमा शवपेटिकाहरू चिहानअगाडि राखिएका थिए । रेडक्रसका टोलीले शवपेटिकाहरू एक–एक गरी अन्तिम संस्कारस्थलतर्फ लगे । केही आफन्त मौन उभिएका थिए भने केही शवपेटिका जमिनमा झारिँदा भावविह्वल भएर रोएका थिए । आगलागी गत बिहीबार भएको थियो । आगोले दुई विद्यालय र सयौँ घरमा क्षति पु¥याएको थियो । घटनास्थलमा घरहरू एकअर्कासँग निकै नजिक थिए र धेरै संरचना सजिलै आगो लाग्ने सामग्रीबाट बनेका थिए । घटनापछि विभिन्न निकायले मृतकको संख्या फरक–फरक रूपमा सार्वजनिक गरेका छन्। प्रारम्भिक स्थानीय विवरणमा २९ विद्यार्थीको मृत्यु भएको बताइएको थियो भने बुकाभु प्रशासनको नियन्त्रणमा रहेका अधिकारीहरूले सोमबार २६ विद्यार्थी र दुई शिक्षक गरी २८ जनाको अन्त्येष्टि गरिएको बताएका छन् ।
आगलागीको भोलिपल्ट घटनास्थलमा कालो भएका भित्ताहरू, खरानीमा परिणत भएका घरहरू, तापका कारण बाङ्गिएका धातुका पाता तथा भग्नावशेषमा छरिएका व्यक्तिगत सामानहरू देखिएका थिए । ध्वस्त बस्तीको एउटा भित्तामा एउटै परिवारका १० जनाको तस्बिर सँगसँगै राखिएको थियो। स्थानीय बासिन्दाहरू ती तस्बिरअगाडि रोकिँदै केही शब्दमा कुराकानी गर्थे वा मौन रूपमा मृतकका अनुहार हेरिरहन्थे । घटनालाई अझ पीडादायी बनाउने पक्ष भनेको धेरैजसो पीडित विद्यालय गएका बालबालिका हुनु हो। आगलागीका बेला दुवै विद्यालय विद्यार्थीले भरिएका थिए। आगो फैलिँदा बालबालिका भाग्न खोजेका थिए भने अभिभावक र स्थानीय बासिन्दाहरू विद्यालयतर्फ दौडिएका थिए । एक शिक्षकका अनुसार घटनाका बेला दुवै विद्यालयमा करिब ९०० विद्यार्थी उपस्थित थिए ।
बुकाभुमा तिब्र शहरी विस्तार, घना बस्ती, साँघुरा सडक तथा काठलगायत सजिलै आगो लाग्ने निर्माण सामग्रीको व्यापक प्रयोगका कारण आगलागीको जोखिम लामो समयदेखि उच्च रहेको छ । तर स्थानीय बासिन्दाका अनुसार यति धेरै विद्यालयका बालबालिकाको ज्यान जाने गरी भएको आगलागी उनीहरूले यसअघि सम्झन सकेका थिएनन् । मार्च २३ मुभमेन्ट (ः२३) विद्रोही समूहले फेब्रुअरी २०२५ देखि बुकाभुमा नियन्त्रण कायम राखेको बताइएको छ । घटनापछि समूहले गत शुक्रवार दक्षिण किभु प्रान्तभर तीन दिनको शोक घोषणा गरेको थियो ।

Leave a Reply