काठमाडौँ । हिमालयन इन्टरनेशनल भास्कुलर समिट (हिमभास) को दोस्रो संस्करण आगामी चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।
हिमभासका अध्यक्ष डा. सन्दीपराज पाण्डेकाअनुसार सम्मेलन १७ मार्चदेखि २१ मार्च २०२७ सम्म सञ्चालन हुनेछ । नेपालमा भास्कुलरसम्बन्धी पहिलो वृहत अन्तर्राष्ट्रिय सम्मेलनका रूपमा सन् २०२४ मा आयोजना गरिएको हिमभासलाई निरन्तरता दिँदै दोस्रो संस्करण आयोजना गर्न लागिएको हो । मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले सन् २०२४ मा आयोजित पहिलो संस्करणमा ४२ देशका विज्ञ चिकित्सक तथा वैज्ञानिक सहभागी भएका जानकारी दिनुभयो । तीन दिनसम्म चलेको उक्त सम्मेलनमा स्वदेशी तथा विदेशी गरी ३५० भन्दा बढीको सहभागिता रहेको डा. पाण्डेले बताउनु भयो । यसपटक सम्मेलनलाई अझ ठूलो बनाउने तयारी भइरहेको छ । आयोजकले १०० भन्दा बढी देशका विशेषज्ञ चिकित्सक तथा वैज्ञानिकलाई निमन्त्रणा पठाएको र हालसम्म ६० भन्दा बढी देशबाट सहभागिताका लागि दर्ता भइसकेको जनाएको छ । आयोजककाअनुसार यस संस्करणमा अघिल्लो पटकको तुलनामा कम्तीमा दोब्बर विदेशी विज्ञ सहभागी हुने अपेक्षा गरिएको छ । हिमालय क्षेत्रसँग सम्बन्धित मुलुक तथा विश्वका विभिन्न देशका भास्कुलर विशेषज्ञलाई एउटै मञ्चमा ल्याएर ज्ञान, सीप, अनुसन्धान तथा उपचार अनुभव आदानप्रदान गर्ने उद्देश्यले हिमभास आयोजना हुँदै आएको डा. पाण्डेले बताउनु भयो । उहाँकाअनुसार सम्मेलनमा भास्कुलरसम्बन्धी अध्ययन तथा अनुसन्धानका प्रतिवेदन, वैज्ञानिक पेपर र पोस्टर प्रश्तुत गरिनेछन् । यसपटक ३०० भन्दा बढी पेपर तथा पोस्टर प्रश्तुत हुने तयारी छ ।
भास्कुलर चिकित्सा मानव शरीरमा शिरदेखि पाउसम्म रहेका विभिन्न रक्तनलीको अध्ययन, अनुसन्धान, रोग पहिचान तथा उपचारसँग सम्बन्धित चिकित्सा विधा हो । सम्मेलनमा अमेरिका, बेलायत, अष्ट्रेलिया, इटाली, फ्रान्स, उरुग्वे, जापान, चीन, भारत र यूएईलगायत देशका विशेषज्ञ सहभागी हुने आयोजकले जनाएको छ । त्यस्तै बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, सिंगापुर, टर्की, अस्ट्रिया, कोलम्बिया, इजिप्ट, हङकङ, स्वीडेन र ओमानलगायत देशका विज्ञहरूको सहभागिता पनि सुनिश्चित भएको बताइएको छ । हिमभास २०२७ को अर्को प्रमुख उद्देश्य नेपालको मेडिकल टुरिजम प्रवद्र्धन गर्नु रहेको डा. पाण्डेले बताउनु भयो । पहिलो हिमभासमा सहभागी ४० भन्दा बढी विदेशी विशेषज्ञ सम्मेलनपछि माउन्टेन फ्लाइट तथा अन्नपूर्ण आधार शिविर (एबीसी) ट्रेकमा गएको उहाँले जानकारी दिनुभयो । यसपटक पनि सहभागी धेरै विदेशी चिकित्सकले सम्मेलनपछि केही दिन नेपालमा बसेर विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्ने इच्छा व्यक्त गरेको उहाँले बताउनु भयो । यसले सम्मेलनसँगै नेपालको पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने आयोजकको अपेक्षा छ ।
डा. पाण्डेकाअनुसार पहिलो हिमभासपछि ३०० भन्दा बढी विदेशी बिरामीले उपचारका लागि आफूलाई सम्पर्क गरेको दाबी गर्दै भारत, भुटान र बंगलादेशका साथै मध्यपूर्व, मलेसिया, इण्डोनेसिया, टर्की तथा केही युरोपेली मुलुकबाट समेत बिरामी नेपालमा उपचारका लागि आउन थालेको बताउनु भयो । नेपालमा तुलनात्मक रूपमा सस्तो, सहज र गुणस्तरीय उपचार उपलब्ध हुने सन्देश अन्तर्राष्ट्रिय स्तरमा पुग्नु सम्मेलनको महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ छ । आयोजककाअनुसार हिमभास २०२७ मार्फत विश्वभरका विज्ञबीच चिकित्सा ज्ञान र अनुभव आदानप्रदानलाई थप विस्तार गर्नुका साथै नेपालको स्वास्थ्य सेवा र पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने प्रयास गरिनेछ ।
This website uses cookies.