काठमाडौं, १४ फागुन । सत्तारुढ भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोशियारीले भारतले नेपालमा राजनीतिक स्थायित्व र विकास चाहेको बताएका छन् ।
नेपाल–भारत प्रबुद्ध समूह ‘ईपीजी’ भारतीय पक्षका संयोजक समेत रहेका उनले केपी ओली नेतृत्वको नयाँ सरकारले नेपाली जनताको दुःख र दर्द हटाउने विश्वास समेत व्यक्त गरे । उनले ओली नेतृत्वको सरकारले देश र जनताको हितमा काम गर्ने स्पष्ट पारे ।
सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष कोशियारीले नेपाली जनताको अपेक्षा पूरा गर्न ओली नेतृत्वको सरकारलाई सफलता मिलोस भनि आफूले पशुपतिनाथसँग प्रार्थना गरिरहेको बताए ।
उपाध्यक्ष कोशियारीले नेपाल–भारतबीचको सम्बन्ध अझै विस्तार हुँदै जाने आशा पनि व्यक्त गरे । ईपीजीको बैठकमा भाग लिन नेपाल आएका उनले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।




