काठमाडौँ ।
लेबनानको बेका क्षेत्रमा केही विद्यालयमा विद्यार्थी कक्षाकोठामा फर्किए पनि युद्धका कारण क्षतिग्रस्त विद्यालयहरूमा शैक्षिक गतिविधि सामान्य अवस्थामा फर्काउन कठिनाइ भइरहेको छ । मचघारास्थित महदी विद्यालयमा विद्यार्थी पुनः कक्षामा फर्किएका छन् । विद्यालयका कक्षाकोठा फेरि पढाइ र बालबालिकाको खेलकुदको आवाजले भरिन थालेका छन् । तर नजिकै रहेको सहमार सार्वजनिक विद्यालयको अवस्था भने निकै फरक छ । इजरायली हवाई आक्रमणका कारण विद्यालयका कक्षाकोठा, झ्याल, पर्खाल तथा शैक्षिक सामग्रीमा ठूलो क्षति पुगेको छ । क्षतिका कारण विद्यालयका केही भाग अझै प्रयोग गर्न नसकिने अवस्थामा छन् । सहमार सार्वजनिक विद्यालयको अभिभावक समितिका प्रमुख बिलाल कमारकाअनुसार विद्यालय तत्काल पुनःस्थापना गर्न नसकिए चालु शैक्षिक वर्षसँगै आगामी शैक्षिक वर्षसमेत प्रभावित हुनसक्छ । उहाँले विद्यालयका सबै उपकरण नष्ट भएको र कक्षाकोठाहरूमा समेत ठूलो क्षति पुगेको भन्दै सरकारी निकाय, संयुक्त राष्ट्रसंघ तथा लेबनानका विभिन्न समिति र संघसंस्थालाई तत्काल सहयोग गर्न अपिल गर्नुभयो । कमारले विद्यार्थीलाई पुनः कक्षाकोठामा फर्काउन विद्यालयको पुनःस्थापना तत्काल आवश्यक रहेको बताउनु भयो । विद्यालयमा बालबालिकाको पढाइ र खेलकुदको आवाज फेरि सुनिनुपर्ने उहाँको भनाइ छ ।
युनिसेफ र लेबनानको शिक्षा तथा उच्च शिक्षा मन्त्रालयले जुलाईमा गरेको राष्ट्रव्यापी सर्वेक्षणअनुसार पछिल्लो मध्यपूर्व द्वन्द्वबाट लेबनानका ३४० वटा शैक्षिक संस्था प्रभावित भएका छन् । प्रभावित संस्थामा विद्यालय तथा व्यावसायिक तालिम केन्द्रसमेत रहेका छन् भने १७ वटा संस्था पूर्ण रूपमा ध्वस्त भएका छन् । युद्धका कारण भौतिक संरचनामा पुगेको क्षतिले लेबनानमा विद्यार्थीको नियमित शिक्षामा फर्किने प्रक्रिया थप चुनौतीपूर्ण बनेको छ ।
This website uses cookies.