काठमाडौँ ।
वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौं महानगरपालिका करिव ५० वर्षदेखि बिग्रिन थाले पनि पछिल्लो समय महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दिशामा केही राम्रा काम भएको बताउनुभएको छ । आईतवार काठमाडौं महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै आचार्यले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण भएका फल्चाले मौलिक सम्पदा र संस्कृति संरक्षणमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभएको हो । फल्चा बाहिरबाट हेर्दा बस्ने वा ओत लाग्ने सामान्य ठाउँजस्तो देखिए पनि त्यसको संरचनाभित्र काठमाडौंका मौलिक सम्पदा र सांस्कृतिक पहिचान लुकेको उहाँको भनाइ छ ।
आचार्यले काठमाडौंलाई देवताहरूको शहरका रूपमा चित्रण गर्दै यहाँका बासिन्दाले पनि देवताकै रूपमा आफ्नो सम्पदा र महानगरको संरक्षण गर्नुपर्ने बताउनु भयो । उहाँले केही महिनाअघि भारतीय युट्युबरहरूले काठमाडौंको सरसफाई र सौन्दर्यबारे तयार पारेको कार्यक्रम आफूले हेरेको पनि बताउनु भयो । भारतीय सञ्चारमाध्यम तथा युट्युबरहरूले नेपाल र काठमाडौंको प्रशंसा गरेको देख्दा आफूलाई गर्व लागेको उहाँको भनाइ छ । आचार्यले महानगरको विकास र संरक्षणमा महानगरवासीको समेत महत्वपूर्ण भुमिका रहने भन्दै सबैले आफ्नो सहरप्रति जिम्मेवार बन्नुपर्ने बताउनु भयो ।




