अफ्रिकी आकाशमा ‘एकल बजार’ को खोजी | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८३, बिहीबार

अफ्रिकी आकाशमा ‘एकल बजार’ को खोजी

अफ्रिकी महादेशभित्रको हवाई यात्रालाई सहज र सस्तो बनाउँदै आर्थिक समृद्धिको ढोका खोल्न वर्षौँदेखि थाती रहेको ‘एकल हवाई बजार’ (साट्म) तत्काल कार्यान्वयनमा ल्याउन सरोकारवालाहरूले जोड दिएका छन्। केन्याको राजधानी नैरोबीमा सम्पन्न १० औँ ‘एभिएसन अफ्रिका समिट’ मा भेला भएका नीति-निर्माता तथा उड्डयन विज्ञहरूले महादेशीय विकासका लागि ‘खुला आकाश’ नीति र क्षेत्रीय सहकार्य अब ढिलाइ गर्नै नसकिने आवश्यकता बनिसकेको निष्कर्ष निकालेका हुन् । दुई दिनसम्म चलेको उक्त सम्मेलनमा विश्वभरका १३५ भन्दा बढी वायुसेवा कम्पनी र उड्डयन क्षेत्रसँग सम्बद्ध करिब २५ सय प्रतिनिधिको जमघट थियो । सम्मेलनको मुख्य बहस नै अफ्रिकाभित्र एक देशबाट अर्को देश उडान भर्न झेल्नुपरेका जटिल कानुनी झन्झट, चर्को हवाई भाडा र कमजोर कनेक्टिभिटीलाई कसरी चिर्ने भन्नेमै केन्द्रित रह्यो।

सम्मेलनलाई सम्बोधन गर्दै केन्याका प्रधानमन्त्रीय क्याबिनेट सचिव तथा विदेशमन्त्री मुसालिया मुदावादीले उड्डयन क्षेत्रलाई अब केवल यातायातको साधनका रूपमा मात्र हेर्न नहुने तर्क गरे। “विशाल भौगोलिक विविधता भएको अफ्रिकामा व्यापार, पर्यटन, लगानी र मानवीय सहायता जोड्ने यो रणनीतिक माध्यम हो,” उनले भने। अफ्रिकी युनियनको ‘एजेन्डा २०६३’ ले अघि सारेको ‘एकल अफ्रिकी हवाई यातायात बजार’ को अवधारणा कागजमै सीमित हुँदा यात्रुले चर्को भाडा तिर्नुपरेको भन्दै उनले बजार खुला गर्न, नयाँ रुट विस्तार गर्न र अस्वस्थ अवरोधहरू हटाउन सबै मुलुक एक ठाउँमा उभिनुपर्ने बताए। नीतिगत एकरूपता नहुँदा अफ्रिकी एयरलाइन्सहरू आफ्नै महादेशभित्र फैलन नसकेको उड्डयन अधिकारीहरूको स्वीकारोक्ति छ। अफ्रिकन सिभिल एभिएसन कमिसनका महासचिव अडेसेवा अडेयेमीले सबै देशका हवाई सुरक्षा मापदण्ड र नियमन प्रणालीलाई एउटै छातामुनि नल्याएसम्म साझा बजारको सपना अधुरै रहने चेतावनी दिए। उनले बजार पहुँचमा लगाइएका कानुनी तगारोहरू तत्काल हटाउन क्षेत्रीय नियामक निकायहरूलाई आग्रह गरे।

अर्कातर्फ, विमान कम्पनीहरू भने आन्तरिक संकटले थलिएका छन्। अफ्रिकन एयरलाइन्स एसोसिएसनका महासचिव अब्देलरहमाने बेर्थेले हवाई इन्धनमा थोपरिएको चर्को कर, डलरको अभाव र विदेशी मुद्राको उतारचढावले कम्पनीहरूको ढाड सेकेको गुनासो गरे। देशहरूबीच हुने संकुचित द्विपक्षीय सम्झौताले उडान विस्तारमा अवरोध पुगेको भन्दै उनले सरकारहरूले कर घटाउने र खुला सम्झौता गर्ने आँट नगरेसम्म अफ्रिकी उड्डयन क्षेत्र प्रतिस्पर्धी बन्न नसक्ने स्पष्ट पारे।

Leave a Reply