ज्वालामुखी विस्फोटका कारण इण्डोनेसियामा चार विमानस्थलको उडान निलम्बन अवधि थप | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

ज्वालामुखी विस्फोटका कारण इण्डोनेसियामा चार विमानस्थलको उडान निलम्बन अवधि थप

इण्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी पुनः विस्फोट भई खरानी उडेपछि अधिकारीहरूले चारवटा विमानस्थलको उडान निलम्बन अवधि थप गरेका छन् । विमानस्थल सञ्चालक संस्था अङ्कासा पूरा इण्डोनेसियाकाअनुसार जाकार्तास्थित सोकार्नो–हट्टा र हालिम पेरडानाकुसुमा, लाम्पुङको राडिन इन्टेन २ तथा बान्डुङको हुसेन सास्त्रनेगरा विमानस्थलमा उडान सेवा स्थगित गरिएको छ । मौसम विज्ञान, जलवायु तथा भूभौतिकी निकायकाअनुसार सोमबार बिहानको भू–उपग्रह तस्बिरमा ज्वालामुखीको खरानीका दुईवटा झुप्पा अझै पनि जाकार्तातर्फ बहिरहेको देखिएको छ । अनाक क्राकाटाउको पछिल्लो सक्रियताका कारण गत सप्ताहान्तमा १,५०० भन्दा बढी उडानहरू अवरुद्ध भएका थिए, जसबाट करिब १ लाख ७० हजार यात्रु प्रभावित भएको बताइएको छ । जाभा र सुमात्रा टापुको बीचमा रहेको सुन्डा जलसन्धिमा अवस्थित यो ज्वालामुखी पछिल्ला वर्षहरूमा बारम्बार विस्फोट हुँदै आएको छ । सन् २०१८ मा यसको एक भाग समुद्रमा खस्दा आएको विनाशकारी सुनामीमा परी ४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

Leave a Reply