सिरियामा शान्ति स्थापना गर्न फ्रान्स र जर्मनीले सघाउने | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८३, शुक्रबार

सिरियामा शान्ति स्थापना गर्न फ्रान्स र जर्मनीले सघाउने

एजेन्सी ,१३ फागुन । फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोन र जर्मन चान्सलर एंगेला मार्केलले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग समस्या समाधानका लागि वार्ता गर्ने भएका हुन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सिरियाभर ३० दिने मानवीय युद्धविराम प्रस्ताव पारित गरेसँगै वार्ताको वातावरण बनेको हो । तर, केही क्षेत्रमा अझै बमबारी भइरहेको खबरले सिरियाली संकट टार्न अग्रसर मुलुकलाई शसंकित बनाएको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले सिरियामा तीस दिने युद्धबिरामलाई सर्वसम्मतिले पारित गरेसँगै सिरियामा जारी हिंसामा पूर्णविराम लाउन अन्तर्राष्ट्रिय समुदाय अग्रसर देखिएका छन् । यसको उदाहरणस्वरुप हालै फ्रान्स र जर्मनले रुससँग वार्ता गर्न अग्रसर हुनुले देखाएको छ । तर, अन्तर्राष्ट्रिय समुदायले सिरियाली संकट टार्न अग्रसरता लिएकै बेला विद्रोही नियन्त्रित गुटा क्षेत्रमा नयाँ हवाई कारबाहीको खबर आएको छ ।

सुरक्षा परिषदले युद्धबिरामको प्रस्ताव पारित गरेपनि कतिपय क्षेत्रमा हवाइ आक्रमण जारी रहँदा सरोकारवालाहरुले युद्ध विराम पालना हुनेमा चिन्ता ब्यक्त गरेका छन । यहीबीचमा फेरि, रुस र अमेरिकाबीच आरोप–प्रत्यारोप पनि सुरु भएको छ । राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्कि हेलीले सिरियाली सैन्यबल उक्त युद्धबिरामको पक्षमा उभिनेमा आफूलाई शंका लागेको बताएका छन् । उनले सुरक्षा परिषदमा मतदान ढीलो गराउन रुसले भूमिका खेलेको आरोपसमेत लगाएका छन् ।

रुसका राजदूतले भने युद्धबिराम पालना हुनेमा आशंका ब्यक्त गरेका छन्। लगातारको बमबारीले पूर्बी गुटाको स्थिति भयाबह भएको बताइएको छ । पश्चिमा कुटनीतिज्ञहरुले सिरियाको मुख्य सहयोगी रुसले शान्तिका निम्ति पहल नगरे अवस्था झन् दयनीय बन्ने चेतावनी दिएका छन । तर, युद्धविराम पालना भएको अवस्थामा जर्मनी र फ्रान्सले रुससँग सिरियामा स्थायी शान्तिका लागि आवश्यक राजनीतिक रोडम्यापबारे गहन छलफल गर्ने बताएका छन् ।

ताजा समाचार