विपद् व्यवस्थापनमा संघीय सरकारको केन्द्रिकृत नीति वाधकः मुख्य सचेतक थापा | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

विपद् व्यवस्थापनमा संघीय सरकारको केन्द्रिकृत नीति वाधकः मुख्य सचेतक थापा

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी मुख्य सचेतक बासना थापाले विपद् व्यवस्थापन र राहत वितरणमा संघीय सरकारको कार्यशैली प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ ।  सिंहदरबारमा सोमवार बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले विपद् प्रभावित क्षेत्रमा विशेषगरी महिला र बालबालिकाहरूको अवस्था निकै चुनौतीपूर्ण रहेको बताउनुभएको हो । मुख्य सचेतक थापाले प्रभावित क्षेत्रमा महिला र बालबालिकाले भोग्नुपरेका समस्याहरूलाई सम्बोधन गर्न मानव अधिकार र बाल अधिकारका क्षेत्रमा कार्यरत निकायहरूलाई काम गर्ने सहज वातावरण निर्माण गरिदिन सरकारसँग आग्रह गर्नुभयो । विपद्को समयमा स्थानीय र प्रदेश सरकारहरू प्रभावकारी नदेखिएको भन्ने प्रश्नको उत्तर दिँदै उहाँले यसको मुख्य कारण संघीय सरकारको केन्द्रिकृत सोच भएको दाबी गर्नुभयो ।

उहाँले राहत सामग्रीको उपलब्धता पर्याप्त भएपनि स्थानीय र प्रदेश तहलाई अधिकार नदिँदा वितरण प्रक्रिया व्यवस्थित हुन नसकेको जिकिर गर्नुभयो । थापाकाअनुसार स्थानीय जनप्रतिनिधिहरू आफैँ विपद्को मारमा परेको र ठूलो मानवीय एवं भौतिक क्षति व्यहोरेको अवस्थामा उनीहरूलाई सरकारले उचित समन्वय र जिम्मेवारी दिएर परिचालन गर्नुपर्ने आवश्यकता छ ।विपद् व्यवस्थापनलाई चुस्त बनाउन सरकारले स्थानीय र प्रदेश सरकारमाथि विश्वास गर्दै उनीहरूलाई नै पूर्ण जिम्मेवारी सुम्पनुपर्नेमा मुख्य सचेतक थापाले जोड दिनुभयो ।

Leave a Reply

ताजा समाचार