कविना बलामी,काठमाडौँ । काजी कालु पाँडेको समाधिस्थल नेपालको एकीकरण अभियानसँग प्रत्यक्ष रूपमा जोडिएको ऐतिहासिक सम्पदा हो। समाधिस्थल केवल एउटा व्यक्तिको स्मरण गर्ने स्थान मात्र नभई नेपालको इतिहास, एकीकरण अभियान र तत्कालीन सैन्य तथा राजनीतिक अवस्थाबारे नयाँ पुस्तालाई जानकारी दिने महत्वपूर्ण सम्पदा पनि हो।काजी कालु पाँडे वि.सं. १७७० देखि १८१४ सम्म जीवित रहेको ऐतिहासिक तथ्य पाइन्छ। उनी नेपाल एकीकरणका अभियानमा अतुलनीय योगदान दिने वीर योद्धा, कूटनीतिज्ञ तथा राजनीतिज्ञका रूपमा चिनिन्छन्। पृथ्वीनारायण शाहको नेतृत्वमा काठमाडौं उपत्यका लगायत विभिन्न राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्ने अभियानमा पाँडेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।वि.सं. १८१४ जेठ १९ गते कीर्तिपुरको युद्धमा काजी कालु पाँडे वीरगति प्राप्त गरेका थिए।
युद्धका क्रममा उनको निधन भएपछि उनको इच्छाअनुसार दहचोक डाँडामा समाधिस्थल निर्माण गरिएको मानिन्छ। यही कारण दहचोकस्थित समाधिस्थललाई नेपालको एकीकरण अभियान र काजी कालु पाँडेको योगदानसँग जोडिएको महत्वपूर्ण ऐतिहासिक स्थलका रूपमा लिइन्छ। पृथ्वीनारायण शाहको नेतृत्वमा भएको नेपाल एकीकरण अभियानमा महत्वपूर्ण भूमिका खेलेका पाँडेको स्मृतिलाई जीवन्त राख्न दहचोक डाँडामा समाधिस्थल निर्माण गरिएको हो।गोर्खा देखिने गरी समाधिस्थल बनाइदिन आग्रह गरिएकाले काजी कालु पाँडेको समाधिस्थल दहचोक डाँडामा निर्माण गरिएको बताइन्छ। उक्त स्थानबाट नुवाकोटको युद्धसमेत देख्न सकिने भएकाले यसको ऐतिहासिक तथा रणनीतिक महत्वसमेत रहेको छ। समाधिस्थल परिसरमा काजी कालु पाँडेसँग सम्बन्धित तस्बिरहरू राखिएका छन् भने नेपाल एकीकरणको अभियान र त्यससँग जोडिएका ऐतिहासिक घटनालाई समेत प्रस्तुत गर्ने प्रयास गरिएको छ।
सरकारले संरक्षण र पूर्वाधार विकासमा ध्यान दिने, स्थानीय तह तथा समुदायले व्यवस्थापनमा सक्रियता देखाउने र आम नागरिकले सम्पदाको महत्व बुझेर संरक्षणमा सहयोग गर्ने हो भने दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थललाई नेपालको इतिहासको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ।ऐतिहासिक स्थलहरूलाई केवल औपचारिक रूपमा संरक्षण गरेर मात्र पुग्दैन। त्यहाँको इतिहास, त्यससँग जोडिएका व्यक्ति र घटनाबारे प्रमाणमा आधारित जानकारी सर्वसाधारण तथा नयाँ पुस्तासम्म पु¥याउन आवश्यक हुन्छ। नेपालको एकीकरण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका काजी कालु पाँडेको ऐतिहासिक योगदानसँग जोडिएको दहचोकस्थित समाधिस्थल संरक्षण र प्रवद्र्धनको आवश्यकता छ ।
त्यसैले समाधिस्थललाई केवल स्मारकका रूपमा सीमित नराखी ऐतिहासिक अध्ययन, पर्यटन र नयाँ पुस्ताको शिक्षासँग जोडिएको सम्पदाका रूपमा विकास गर्न आवश्यक छ। इतिहास बोकेका यस्ता सम्पदाको संरक्षण आजको पुस्ताको जिम्मेवारी मात्र होइन, भावी पुस्तालाई आफ्नो इतिहास बुझाउने महत्वपूर्ण आधारसमेत हो।
This website uses cookies.