काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले यातयात व्यवसायी तथा चालकहरुलाई तोकिएको भाडाभन्दा बढी भाडा नलिन आग्रह गर्नुभएको छ ।
पोखरेली ट्याक्सी सेवा प्रालिको वार्षिकोत्सवमा उहाँले विपद्को समयमा बरु कम भाडा लिन आग्रह गर्नुभएको हो । उहाँले भारी वर्षाका कारण विभिन्न राजमार्गमा यातायात अवरुद्ध भएकाले विपद्को समयमा जबर्जस्ती सवारी नचलाउन पनि आग्रह गर्नुभयो । उहाँले स्थानीय प्रशासन, विपद् व्यवस्थापन निकाय र मौसमविद्ले दिएका सूचनालाई अक्षरशः पालना गर्नुपर्नेमा जोड दिनुभयो । प्रशासनसँग समन्वय नगरी जबर्जस्ती सवारी चलाउन नहुने उहाँले बताउनु भयो । उहाँले हाल विपद्मा परेका यात्रुको उद्धारलाई प्राथमिकता दिन पनि सबै यातायात संघ, संस्था र कम्पनीलाई आग्रह गर्नुभयो । रसुवा वाढीका कारण ठूलो मानविय तथा भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दे उहाँले वाढी प्रभावितको उद्धार कार्यमा सहयोग गर्न र आवश्यक रकम तथा स्रोतसाधन परिचालन गर्न समेत अनुरोध गर्नुभयो । सिटौलाले बाढी प्रभावित क्षेत्रमा ठुलो संख्यामा यात्रु, चालक र सवारी साधन बेपत्ता भएको बताउनुभयो । उहाँले चालक, सहचालक, यात्रु तथा यातयताको खोज तथा उद्धार कार्यलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गर्नुभयो । उहाँका अनुसार रसुवा, त्रिशूलीलगायतका क्षेत्रमा हजारौँ सवारी साधनको अवस्था अज्ञात रहेको छ । उहाँले देशभर रहेका सवारी साधन, यात्रु र चालकको विवरण संकलन गरी केन्द्रीय कार्यालयमा पठाउन महासंघको प्रदेश तथा जिल्ला तहलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘त्रिशूलीमा आएको बाढीका कारण पूर्व पश्चिम जाने सवारी सबै रोकिएको छ । काठमाडौँमा सबै सवारी रोकिएको छ । यो विषम घडीमा हामीले महासंघले सूचना पनि जारी गरिसकेका छौँ । सबै यो विषम परिस्थितिमा सबै सवारी साधन आआफ्नो ठाउँमा खडा गरेर प्रशासनले, विपद् व्यवस्थापनले मौसमविदले दिएको कुरालाई अक्षरश अक्षरश पालना गरेर मात्रै सवारी साधन चलाउनुहोला । जबर्जस्ती ढङ्गबाट कसैले पनि नचलाइदिनु म विशेष आग्रह गर्न चाहन्छु । अहिलेको यो उद्धारको समयमा यात्रु, उपवक्ता, यात्रुहरू जहाँजहाँबाट आउनुहुन्छ, पीडित यात्रुहरू हुनुहुन्छ, मेची महाकालीबाट तपाईँहरूले उद्धार गरिरहनुभएको छ । सबै संघ, संस्था, कम्पनी सबै लाग्नुभएको छ । मेची महाकाली हाम्रा सबै साथीहरू राख्न लाग्न र उद्धारको लागी आवश्यक रकम पनि सहयोग गनए आग्रह गर्दछु । अहिले सबैको जीवित उद्धार गर्न नेपाल सरकारसँग जोरदार माग गर्न चाहन्छु कि पहिला मानवीय क्षतिको मानवीय उद्धारको लागि हामी लाग्नैपर्छ । सरकारसँग हामी अत्यन्तै ठूलो सहकार्य गर्नेछौँ तर सरकारले सार्वजनिक यातायातका चालकहरू कति काम के भइरहेको छ ? यात्रुहरू के भइरहेको छ ? सवारी चालक, सहचालक, सवारी साधानको सरकारले युद्धस्तरमा खोज–तलास गरेर हामीलाई जानकारी दिओस् । अहिले कुनै पनि टीका–टिप्पणी गर्ने अवस्था छैन । उद्धारको लागी एक रूपैयाँदेखि दश रूपैयाँदेखि मन आफ्ना व्यक्ति–व्यक्तिले सबै ठाउँमा सहयोग पु¥याउनुहुन पनि म अनुरोध गर्छु । साथै महासंघको केन्द्रीय कार्यालयमा सवारीको डाटा, यात्रुको डाटा, चालकहरूको डाटा पठाउन पनि प्रदेश र जिल्लाले समन्वय गरिदिनुहोला । यो विपद्को घडीमा कुनै पनि चालक, कुनै पनि व्यवसायी साथीहरूले अहिले तोकेको भाडाभन्दा बढी एक रूपैयाँ कसैले नलिनुस्, बरु केही रूपैयाँ कम गरेर यो उद्धारमा लागिदिन विशेष आग्रह गर्दछु ।‘
पोखरेली ट्याक्सी सेवा प्रालिले वाढी पीडितहरुको सहयोगको लागि ३ लाख रुपैयाँ सहयोग गर्ने निर्याय गरेकोमा अध्यक्ष सिटौलाले धन्यवाद दिनुभयो । उहाँले यातयात क्षेत्र पीडित भएपनि आफ्नो क्षमताअनुसार सरकारलाई सहयोग गर्न तयार रहेको बताउनु भयो ।
This website uses cookies.