काठमाडौं । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण तथा पवित्र पर्व रक्षावन्धन प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइन्छ । विशेषगरी दाजुभाइ र दिदीबहिनीबीचको अटुट प्रेम, स्नेह र विश्वासको प्रतीक मानिने यो पर्व नेपालभर र विशेष गरी मिथिलाञ्चल क्षेत्रमा विशिष्ट महत्वका साथ मनाउने गरिन्छ । रक्षावन्धनको अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइको दाहिने हातको नाडीमा रक्षासूत्र (राखी) बाँधिदिएर उनीहरूको सुख, समृद्धि, सफलता र दीर्घायुको कामना गर्दछन् । राखी बाँध्ने क्रममा दिदीबहिनीले दाजुभाइबाट जीवनभर आफ्नो रक्षा गर्ने वचन प्राप्त गर्छन् । यसको बदलामा दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई गच्छेअनुसार उपहार प्रदान गर्दै सुख–दुःखमा सधैँ साथ दिने र रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्दछन् । धार्मिक एवं सामाजिक दृष्टिकोणले रक्षाबन्धनलाई केवल एउटा धागो बाँध्ने प्रक्रियाका रूपमा मात्र नभई प्रेम, समर्पण र सम्बन्धको पवित्रताको प्रतीक मानिन्छ । यसमा प्रयोग गरिने ‘सूत्र’ ले एकता र अविच्छिन्न सम्बन्धलाई प्रतिविम्बित गर्दछ । यस पर्वको पौराणिक पृष्ठभूमि देवराज इन्द्रसँग जोडिएको छ । पौराणिक कथाअनुसार, देवासुर संग्राममा देवताहरूको विजय सुनिश्चित गर्न इन्द्राणीले देवराज इन्द्रको दाहिने हातमा रक्षासूत्र बाँधिदिएकी थिइन् । सोही रक्षासूत्रको शक्तिले इन्द्रले असुरहरूमाथि विजय प्राप्त गरेको जनविश्वास रहिआएको छ । अन्ततः रक्षाबन्धनले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै समाजमा प्रेम, विश्वास, कर्तव्यबोध र सद्भावको सन्देश प्रवाह गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ ।




