काठमाडौं । महिला उद्यमीहरुले उत्पादन गरेको कृषि र वनमा आधारित उत्पादनको प्रदर्शनी आयोजना गरिएको छ ।
आध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडले मंगलवार काठमाडौंको होटल ¥याडिसनमा महिला उद्यमीहरुको उत्पादनलाई प्रर्दशन गरेको हो । प्रदर्शनीमा महिला उद्यमीहरुले मह, जडिबुडी, कफी, चिया, कपडा लगायतका उत्पादन राखेका छन् । प्रदर्शनीसँगै आध्यान्ताले वन तथा कृषिमा आधारित उद्यमलाई निजी क्षेत्रसंगको साझेदारीमा विस्तार तथा स्तरोन्नति गर्ने सम्बन्धी सरोकारवालासँग छलफल समेत आयोजना गरेको थियो । छलफलमा निजी क्षेत्र, सरोकारवाला लगायतको सहभागीता रहेको थियो । आध्यान्ता फण्ड म्यानेजमेण्ट लिमिटेडले किसानलाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको कम्पनीका संस्थापक तथा अध्यक्ष मनोज पौडेलले जानकारी दिनुभयो । आध्यान्तले सम्भावना बोकेका कृषि तथा अन्य उद्यममा लगानी गर्ने र तिनलाई लगानीयोग्य तथा विस्तारयोग्य बनाउन काम गरिरहेको पौडेलको भनाई छ । हाल किसान र उपभोक्ताबीच देखिएको मूल्य श्रृंखलाको अन्तर समाधान गर्न पनि आफूहरुले पहल गरिरहेको उहाँले जानकारी दिनुभयो । यद्यपी आफूहरुको पहले मात्रै नहुने हुँदा राज्यले पूर्वाधार, उद्यम र प्रविधिमा लगानी गर्न आवश्यक रहेको उहाँको भनाई छ । पौडेलका अनुसार किसानले खेतमै उत्पादन विक्री गर्दा पाउने मूल्य र काठमाडौंलगायतका बजारमा उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ । पूर्वाधारमा रहेको लगानी अक्षमताका कारण मुल्यमा ठुलो अन्तर परेको उहाँको भनाई छ । कोल्ड स्टोरेज, वेयरहाउस, प्रशोधन तथा बजार व्यवस्थापनजस्ता पूर्वाधारमा लगानी बढाउन सकेमा किसानले उचित मूल्य पाउने र उपभोक्ताले पनि तुलनात्मक रूपमा उचित मूल्यमा वस्तु पाउने अवस्था बनाउन सकिने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘हामी आफैँ कृषिको बिजनेस गर्ने होइनौँ । हामी आफैँ कृषक पनि होइनौँ । तर सम्भावना बोकेका र अझ ठूलो उद्यम बन्न सक्ने सम्भावना भएका उद्यमहरूमा हामी लगानी गर्दै आएका छौँ । कतिपय उद्यमहरू आजकै दिनमा लगानीयोग्य अवस्थामा हुँदैनन् । त्यस्ता उद्यमलाई व्यवस्थापनमा सहयोग गर्ने, बजारसम्म पु¥याउने तथा बजारसँग जोड्ने, गुणस्तर सुनिश्चित गर्ने लगायतका काममा पनि हामी उहाँहरूसँगै काम गर्छौँ । यसरी उहाँहरूलाई लगानीयोग्य बनाउने, लगानी भित्र्याउने, त्यसपछि उद्यमलाई स्केल गर्ने अर्थात् अझ ठूलो बनाउने काम हामी गर्छौँ । अहिले बजारमा ५ रुपैयाँदेखि ६० रुपैयाँसम्मको मूल्यमा जुन ठूलो अन्तर छ, त्यो किन भएको हो भने बीचको पूर्वाधारमा रहेको अक्षमताका कारणले हो । अब त्यो पूर्वाधारमा कसरी लगानी गर्ने ? चाहे त्यो कोल्ड स्टोरेजको पूर्वाधार होस् वा वेयरहाउसको पूर्वाधार, कृषिसँग सम्बन्धित त्यस्ता पूर्वाधारमा लगानी गरेर कृषकले पाउनुपर्ने उचित मूल्य पाऊन् र उपभोक्ताले पनि आफूले पाउनुपर्ने वस्तु उचित मूल्यमा पाऊन् भन्ने उद्देश्यले हामी विशेषगरी लगानीको क्षेत्रमा काम गरिरहेका छौँ । हामीले कुनै एक जना किसान वा सानो स्तरमा काम गरिरहेका किसानलाई मात्र लक्षित गरेका छैनौँ । बरु सबै किसानलाई जोड्ने पूर्वाधारमा कसरी लगानी गर्न सकिन्छ भन्नेमा हामी केन्द्रित छौँ । हामीले दुई वर्षअघि ‘खेती’ भन्ने एउटा डिजिटल एग्रिटेक एप सञ्चालन गर्ने कम्पनीमा लगानी गरेका थियौँ । किसानलाई सहज तरिकाले बैंकिङ सेवासम्म पुग्न गाह्रो हुने अवस्था छ । तर उक्त एपले किसानलाई कृषि सामग्री तथा इनपुट खरिद गर्न आवश्यक पर्ने रकमका लागि एपमार्फत नै बैंकको ऋणमा आवेदन दिन सक्ने सुविधा दिन्छ । यसले दशौँ हजार किसानलाई एउटै प्लेटफर्ममा जोडेको छ । यो एउटा नयाँ इनोभेसन अर्थात् नवीनताको उदाहरण हो । त्यसैले यस्ता नवीनताका माध्यमबाट हामीले कसरी ठूलो स्तरमा काम गर्न सक्छौँ भन्नेमा पनि हामी केन्द्रित छौँ ।’
दूध, चिया, अदुवा लगायतका कृषि उत्पादनले बजार नपाउने समस्या समाधान गर्न उत्पादनसँगै प्रशोधन र बजारसँग जोडिने उद्यमको विकास आवश्यक रहेको उहाँले बताउनु भयो । आध्यान्तले यस्ता उद्यममा लगानी गरी किसानलाई जोड्ने र क्षेत्रगत रूपमा कृषि मूल्य श्रृंखला बलियो बनाउने रणनीति लिएको उहाँको भनाई छ । उहाँले लगानीकर्ताबाट छरिएर रहेको पुँजी एकत्रित गरि कम्पनीले सम्भावना बोकेका उद्यममा लगानी गर्ने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले सानो पुँजी भएका धेरै किसानलाई वित्तीय प्रणालीसँग जोड्न प्रविधिको प्रयोग पनि आवश्यक रहेको बताउनु भयो । उहाँकाअनुसार आध्यान्तले दुई वर्षअघि ‘खेती’ नामक एग्रिटेक कम्पनीमा लगानी गरेको थियो । उक्त डिजिटल एपमार्फत किसानले कृषि सामग्री खरिदका लागि बैंक ऋणमा आवेदन दिन सक्ने र ठूलो संख्यामा किसानलाई एउटै प्लेटफर्ममा जोड्ने काम भइरहेको छ ।




