काठमाडौं ।
कृषि उत्पादन र बजार विस्तारमा केन्द्रित सात महिला सहकारी संस्थाले कृषिमा लगानी बढाउनको लागी बैंक तथा वित्तीय संस्थासँग १२ करोड रुपैयाँ बराबरको लगानी प्रश्ताव गरेका छन् । हेफर इन्टरनेशनल नेपालको पहलमा आयोजित ‘फ्रम फार्म टु फाइनान्स’ राष्ट्रिय पिचिङ कार्यक्रममा दाङ, पाल्पा, सर्लाही, सिन्धुली, कास्की र नवलपुरका सात महिला कृषि उद्यमी सहकारीले आफ्नो व्यवसाय विस्तार योजना प्रश्तुत गर्दै २० लाख रुपैयाँदेखि ४ करोड रुपैयाँसम्मको ऋण तथा लगानी सहयोगको प्रश्ताव गरेका हुन् । कार्यक्रममा सहभागी सहकारीहरूले अदुवा, बेसार, सिमी, टिमुर तथा दुग्धजन्य उत्पादनको व्यावसायिक उत्पादन र बजारीकरण विस्तारका लागि लगानी माग गरेका थिए । लमही नगरपालिका दाङमा रहेको निलकमल समाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक पुनम भण्डारीले १ करोड ५० लाख रुपैयाँको लगानी प्रश्ताव गर्नुभयो । दुग्धजन्य पदार्थको उत्पादन र बजारीकरण गर्नको लागि सो रकम खर्च गरिने उहाँको भनाई छ । उहाँकाअनुसार सहकारीले २०७३ सालमा डेरी स्थापना गरी किसानको दुध खरिद गर्दै आएको छ । सहकारीले कच्चा दुध मात्रै नभई आईसक्रिम, कुल्फी, पनीर, खुवाको उत्पादन गर्न थालेको छ । सहकारीले यसलाई प्याकेजिङ र ब्राण्डिङ गरेर बेच्ने लक्ष्य राखेको उहाँले बताउनु भयो । उहाँकाअनुसार हाल सहकारीको कूल पुँजी ८ करोड ८ करोड ५० लाख भन्दा माथि रहेको छ ।
५ करोड ९३ लाख रुपैयाँभन्दा बढी वचत तथा १ करोड २८ लाख रुपैयाँ ऋण रहेको उहाँले जानकारी दिनुभयो । उहाँले अब १ करोड ५० लाख रुपैयाँ ऋण लिएर ५० लाख रुपैयाँ सहकारीको प्रवर्धनमा खर्च गर्ने र १ करोड रुपैयाँ सदस्यहरुलाई लगानी गरेर आर्थिक उन्नतिसँगै सहकारीको पनि व्यवसायमा वृद्धि गर्ने लक्ष्य राखिएको बताउनु भयो ।समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था दाङकी व्यवस्थापक राजकुमारी चौधरीले तरकारीको उत्पादन र बजारीकरणको लागी चार करोड रुपैयाँको लगानी प्रश्ताव गर्नुभएको थियो । उहाँले किसानले अत्याधिक रुपमा तरकारी उत्पादन गर्ने भएकोले १ करोड रुपैयाँ कोल्डस्टोर निर्माणको लागि र ३ करोड रुपैयाँ कृषकहरुलाई उत्पादनमा सहजीकरणको लागि उक्त रकम खर्च गरिने बताउनु भयो । हाल कृषकहरुलाई उत्पादनको बजारिकरणमा सहकारीले ठूलो सहयोग गरिरहेको उहाँको भनाई छ । उहाँका अनुसार सहकारीको वासलात आकार १९ करोड २० लाख रुपैयाँ छ भने कुल निक्षेप १६ करोड ६२ लाख र कर्जा लगानी १३ करोड ३० लाख रुपैयाँ पुगिसकेको छ ।लगानीको प्रश्ताव राख्ने सहकारीहरु वित्तीय रूपमा निकै मजबुत रहेका छन् । गण्डकी प्रदेशको नवलपुरस्थित सकलादेवी सामाजिक उद्यमी महिला सहकारीको वासलात ७ करोड ४९ लाख रुपैयाँ र कुल निक्षेप ३ करोड ७१ लाख रुपैयाँ छ । यसले एक करोड रुपैयाँ माग गरेको छ ।
कास्कीको माछापुच्छ्र्रेस्थित प्रतिभा सामाजिक उद्यमी महिला सहकारीको वासलात ५ करोड ९९ लाख रुपैयाँ र कुल निक्षेप २ करोड ३० लाख रुपैयाँ छ । प्रतिभा सहकारीले १ करोड ऋण माग गरेको छ । मधेस प्रदेशको सर्लाहीस्थित हरिपुर सामाजिक उद्यमी महिला सहकारीको वासलात ७ करोड १९ लाख रुपैयाँ र कुल निक्षेप २ करोड ८० लाख रुपैयाँ छ । यसले पनि एक करोड रुपैयाँ नै ऋण माग गरेको छ । वागमती प्रदेशको सिन्धुलीस्थित कमलामाई सामाजिक उद्यमी महिला सहकारीको वासलात १ करोड ९३ लाख रुपैयाँ छ, यसले ५० लाख रुपैयाँ लगानी प्रश्ताव गरेको छ । पाल्पाको गल्धा सामाजिक उद्यमी महिला सहकारीको वासलात ४ करोड ७५ लाख रुपैयाँ छ यो सहकारीले २० लाख रुपैयाँको ऋण माग गरेको छ । ग्लोवल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, आरएसडीसी लघुवित्त वित्तीय संस्था र साना किसान विकास लघुवित्त वित्तीय संस्थालगायत वित्तीय निकायले सहकारीहरूको व्यवसायिक योजनामा ऋण लगानी गर्न तयार रहेको बताएका छन् । निर्यातकर्ता कम्पनी एक्विस्टा नेपालले ती सहकारीहरूले उत्पादन गर्ने कृषि उपज खरिद गर्न ९ करोड रुपैयाँ बराबरको अग्रिम खरिद सम्झौता गरेको छ ।कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सहकारीमा आधारित वित्तीय तथा बजार प्रणाली अपरिहार्य रहेको बताउनु भयो ।
उहाँले सहकारीहरूलाई उत्पादन, प्रशोधन र बजारीकरणसँग जोड्न वित्तीय पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले साना किसानलाई लगानी जुटाउन नै समस्या हुने गरेको बताउनु भयो । सहकारीमार्फत साना किसानहरुलाई लगानी उपलब्ध गराउन अति आवश्यक रहेको उहाँको भनाई छ ।हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मीले कृषि क्षेत्रको रूपान्तरणका लागि बैंक, निजी क्षेत्र, सहकारी र सरकारी निकायबीच व्यापक साझेदारी आवश्यक रहेको बताउनु भयो । उहाँले साना किसानलाई वित्तीय पहुँच, बजार र प्रविधिसँग जोड्न सके कृषि क्षेत्रलाई दीगो आर्थिक आधार बनाउन सकिनेमा जोड दिनुभयो ।कार्यक्रममा सहभागी सहकारीहरूले आफूहरू अब वचत तथा ऋण कारोबारमा मात्र सिमित नरही उत्पादनमुखी कृषि उद्यममा रूपान्तरण हुने चरणमा पुगेको बताएका छन् । वित्तीय संस्थाहरूले पनि सहकारीको पारदर्शी सुशासन, वित्तीय अनुशासन र किसान सञ्जाललाई लगानीका प्रमुख आधारका रूपमा लिएको उल्लेख गरेका छन् । हेफर इन्टरनेशनल नेपालले आगामी एक वर्षसम्म ती सहकारीलाई प्राविधिक परामर्श, व्यवसाय व्यवस्थापन तथा अनुगमन सहयोग उपलब्ध गराउने जनाएको छ । हेफरको यो पहिलो श्रृंखलाअन्तर्गत १८ जिल्लाका ३०० भन्दा बढी महिला उद्यमी सहकारी संस्थाले प्रतिष्पर्धा गरेका थिए ।




