टर्की सरकारले आफ्नो दक्षिणपूर्वी प्रान्त सान्लिउर्फामा अवस्थित एक पुरातात्विक क्षेत्रमा नयाँ तथ्यहरू फेला परेको सार्वजनिक गर्दै त्यहाँ खुला सङ्ग्रहालय निर्माण गर्ने घोषणा गरेको छ । टर्कीको सञ्चारमाध्यम ‘मिलियत’ ले त्यहाँका संस्कृति तथा पर्यटन मन्त्रीलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । संस्कृति तथा पर्यटन मन्त्री मेहमेट नुरी एर्सोयकाअनुसार ईसापूर्व नवौँ सहस्राब्दीको मध्यतिरको मानिएको ‘सायबुर्च’ नामक पुरातात्विक स्थलमा करिब २,७०० वर्गमिटर क्षेत्रफलमा झन्डै ७० वटा संरचनाहरू फेला परेका छन् ।
मन्त्री एर्सोयले उक्त ऐतिहासिक क्षेत्रलाई खुला सङ्ग्रहालयका रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो। साथै, सो क्षेत्रमा रहेका परम्परागत ग्रामीण संरचनाहरूलाई संरक्षण गर्दै एक नमूना गाउँ सङ्ग्रहालय समेत बनाइने उहाँले जानकारी दिनुभयो ।
सायबुर्चमा भएका यी पछिल्ला खोजहरू नवपाषाण कालीन कला र वास्तुकला बुझ्नका लागि अत्यन्त महत्वपूर्ण मानिएका छन् । उत्खननका क्रममा भेटिएका संरचनाहरूले वास्तुकलाको शैली गोलाकारबाट बिस्तारै आयताकार स्वरूपमा परिवर्तन भएको देखाउँछन् । यसका साथै, यी अवशेषहरूले प्रारम्भिक मानव बस्ती र घरहरूको अवधारणा विकास भएको ऐतिहासिक प्रमाणहरू प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ ।




