प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोलाबाट २५ सय भन्दा बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८३, बिहीबार

प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोलाबाट २५ सय भन्दा बढीको मृत्यु

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा फैलिएको इबोला महामारी नियन्त्रणका लागि खोपको पहिलो खेप राजधानी किन्शासा पुगेको छ । ५ हजार भन्दा बढी व्यक्ति संक्रमित भइसकेको र २ हजार ५ सय भन्दा बढीको ज्यान लिइसकेको यस प्रकोपलाई रोक्न सरकारले खोप अभियानलाई तिब्रता दिएको हो । कंगोको स्वास्थ्य मन्त्रालयकाअनुसार राजधानी किन्शासास्थित एन‘डिजिली अन्तर्राष्ट्रिय विमानस्थलमा ‘इर्भवेबो’ खोपको कुल १६ हजार ५ सय २० मात्रा (डोज) आइपुगेको छ । मन्त्रालयले अगस्ट २१ देखि २४ को बीचमा थप ५० हजार १ सय २० मात्रा खोप आइपुग्ने अपेक्षा गरिएको जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठन र अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बिहीबार दिएको जानकारीअनुसार कंगो सरकारको अनुरोधमा खोप व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूह (आईसीजी) ले ७० हजार मात्रा इर्भवेबो खोप तत्काल उपलब्ध गराउन स्वीकृति दिएको छ । ‘इर्भवेबो’ खोप खासगरी ‘जायर इबोला भाइरस’ विरुद्ध प्रयोगका लागि अनुमति प्राप्त र सिफारिस गरिएको खोप हो । यद्यपि, कंगोमा हाल फैलिएको ‘बुन्डिबुग्यो’ भाइरस विरुद्ध यो खोप कत्तिको प्रभावकारी हुन्छ भन्ने विषय अझै अनुसन्धानकै क्रममा छ ।
उपलब्ध खोपमध्ये २० हजार मात्रा बुन्डिबुग्यो भाइरस विरुद्धको प्रभावकारिता मूल्याङ्कन गर्न तेस्रो चरणको क्लिनिकल ट्रायलमा प्रयोग गरिनेछ । बाँकी ५० हजार मात्रा भने महामारीको अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूका लागि प्रयोग गरिने योजना छ ।
देशभर संक्रमणको दर उच्च रहेकै अवस्थामा यो खोप आइपुगेको हो । शुक्रवार सार्वजनिक गरिएको सरकारी प्रतिवेदन अनुसार, अगस्ट १९ सम्म कंगोमा ५ हजार २ सय ९० जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ५ सय १६ जनाको मृत्यु भइसकेको छ । यस प्रकोपमा मृत्युदर ४७.६ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ ।
गत मे १५ मा घोषणा गरिएको यो इबोला प्रकोप कंगोको इतिहासकै सबैभन्दा ठूलो र घातक महामारी बनेको छ । विश्वव्यापी रूपमा पनि यो हालसम्मकै दोस्रो ठूलो इबोला महामारी हो ।

Leave a Reply