मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनाव, आन्तरिक मुद्रास्फीति र स्थानीय मुद्राको अधिमूल्यनका कारण टर्कीको पर्यटन क्षेत्रले यस वर्षको ग्रीष्मकालीन सिजनमा अनिश्चितताको सामना गरिरहेको छ । विश्लेषकहरूकाअनुसार मध्यपूर्वको संकटले पूर्वी भूमध्यसागरीय क्षेत्रको भ्रमण गर्ने पर्यटकहरूको मनोविज्ञानमा असर पारेको छ । यसको प्रत्यक्ष प्रभाव टर्कीका तटीय रिसोर्ट बजारहरूमा स्पष्ट रूपमा देखिएको छ । टर्की प्रत्यक्ष रूपमा द्वन्द्वको चपेटामा नपरे पनि र यहाँका प्रमुख विमानस्थल तथा पर्यटकीय स्थलहरू सामान्य रूपमा सञ्चालन भइरहे तापनि, सम्भावित आगन्तुकहरूमा बढेको शतर्कताका कारण ‘लास्ट मिनेट बुकिङ’ (अन्तिम समयमा गरिने बुकिङ) तर्फको झुकाव बढेको छ ।
यस भूराजनीतिक धक्काले टर्कीका प्रमुख पर्यटकीय स्रोत बजारहरूलाई समेत प्रभावित तुल्याएको छ । गत मार्चमा इरान, अमेरिका र इजरायलबीच बढेको तनावका कारण हवाई मार्ग बन्द हुँदा खाडी मुलुकहरूबाट आउने पर्यटकको संख्यामा उल्लेख्य गिरावट आएको थियो ।
टर्कीले सन् २०२५ मा ६ करोड ४० लाख पर्यटकबाट ६५.२ अर्ब अमेरिकी डलर राजस्व संकलन गर्दै रेकर्ड कायम गरेको थियो । सन् २०२६ का लागि टर्कीले ६८ अर्ब डलर राजस्वको महत्त्वाकांक्षी लक्ष्य राखेको छ । यद्यपि, आधिकारिक तथ्याङ्कअनुसार यस वर्षको पहिलो ६ महिनामा पर्यटक आगमन गत वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशतले घटेर २ करोड ५८ लाखमा सिमित भएको छ । आम्दानीमा पनि केही गिरावट आएकाले वार्षिक लक्ष्य पूरा गर्न वर्षको दोस्रो आधा भागमा ठूलो दबाब परेको देखिन्छ ।
यसअघि रूस र संयुक्त राज्य अमेरिका जस्ता प्रमुख बजारहरूबाट उल्लेख्य वृद्धि हुने प्रक्षेपण गरिएको भए तापनि वर्तमान अवरोधका कारण ती आकलनहरू अहिले अनिश्चित बनेका छन् ।
भूराजनीतिक संकटका साथै आन्तरिक आर्थिक दबाबले पनि टर्कीको पर्यटनको प्रतिष्पर्धी क्षमतामा ह्रास ल्याएको छ । जुलाईमा यहाँको उपभोक्ता मूल्य वृद्धिदर करिव ३१.८ प्रतिशत पुगेको छ भने डलर र युरोको तुलनामा टर्किस लिराको वास्तविक मूल्य वृद्धि भएको छ । यसले गर्दा विदेशी पर्यटकहरूका लागि अन्य भूमध्यसागरीय गन्तव्यहरूको तुलनामा टर्कीमा आवास, खानपान र भ्रमण खर्च महँगो हुन पुगेको छ ।
पर्यटन क्षेत्रका प्रतिवेदनहरूकाअनुसार ठूला होटल तथा रिसोर्टहरूले पर्यटक आकर्षित गर्न मूल्यमा भारी छुट दिन थालेका छन् । यसले होटलहरूमा पर्यटकको चाप (अकुपेन्सी) बढाउन सहयोग पुगे पनि समग्र नाफामा भने कमी आउने देखिएको छ ।
यी प्रतिकूलताका बाबजुद पनि उद्योग विज्ञहरूले टर्कीको पर्यटन क्षेत्र पूर्ण रूपमा धराशायी नहुने विश्वास व्यक्त गरेका छन् । टर्कीको विविध पर्यटकीय स्रोत बजार, विशाल होटल क्षमता, बलियो हवाई सञ्जाल र स्थापित अन्तर्राष्ट्रिय ख्यातिले यस संकटपूर्ण अवस्थामा सुरक्षा कवचको रूपमा काम गर्ने उनीहरूको विश्लेषण छ ।




