ह्वाइट हाउसमा बलरुम निर्माण जारी राख्न अमेरिकी सर्वोच्च अदालतको अस्थायी अनुमति | ईमाउण्टेन समाचार

Our Network

भदौ ५ २०८३, शनिबार

ह्वाइट हाउसमा बलरुम निर्माण जारी राख्न अमेरिकी सर्वोच्च अदालतको अस्थायी अनुमति

अमेरिकी सर्वोच्च अदालतले ह्वाइट हाउसमा जारी बलरुम निर्माण कार्यलाई निरन्तरता दिन शुक्रवार अस्थायी अनुमति दिएको छ । प्रधानन्यायाधीश जोन रोबट्र्सले तल्लो अदालतको निर्माण रोक्ने आदेशलाई तत्कालका लागि ‘स्टे अर्डर’ (अस्थायी रोक) जारी गर्दै निर्माण कार्य अघि बढाउने बाटो खोल्नुभएको हो । यद्यपि, सर्वोच्चले यस परियोजनाको कानुनी वैधताका बारेमा भने कुनै अन्तिम निर्णय गरिसकेको छैन । ट्रम्प प्रशासनले अदालतमा पेश गरेको प्रतिवेदनअनुसार ४० करोड अमेरिकी डलरको निजी लगानीमा सञ्चालित यस परियोजनाको ६५ प्रतिशत काम अगस्ट १४ सम्ममा सम्पन्न भइसकेको छ । उक्त प्रतिवेदनमा २५० जनाको निर्माण टोलीले हप्ताको सातै दिन, दैनिक २० घण्टा काम गरिरहेको जानकारी दिइएको छ । यसअघि अगस्ट ७ मा वासिङ्टनस्थित संघीय पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी रूपमा ह्वाइट हाउसमा नयाँ बलरुम निर्माण गरिरहेको भन्दै काम रोक्न आदेश दिएको थियो।

सोही अदालतले प्रशासनलाई सर्वोच्च अदालतमा पुनरावेदन गर्ने समय दिन आफ्नो फैसलालाई १४ दिनका लागि स्थगन गरेको थियो ।‘नेशनल ट्रस्ट फर हिस्टोरिक प्रिजर्भेसन’ को पक्षमा फैसला सुनाउँदै पुनरावेदन अदालतले ट्रम्पले सन् २०२५ अक्टोबरमा कुनै पूर्वपरामर्श र संसदीय अनुमति बिना नै ह्वाइट हाउसको ‘इस्ट विङ’ भत्काएको उल्लेख गरेको छ । ९० हजार वर्ग फिटको सो विशाल बलरुम निजी कोषबाट निर्माण भइरहेको र यसमा संसदको कुनै निगरानी नरहेको अदालतको ठहर थियो । ह्वाइट हाउस र संसदका अधिकांश सहयोगीहरूले यस बलरुम विस्तार योजनाको समर्थन गरे पनि केही रिपब्लिकन सांसदहरूले भने यस परियोजनाप्रति असन्तुष्टि र चिन्ता व्यक्त गर्दै आएका छन् ।

Leave a Reply