विगत साढे तीन दशकमा नेपालले विभिन्न सूचकमा उल्लेख्य प्रगति गरेको छः प्रेमप्रसाद दंगाल | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०८३, सोमबार

विगत साढे तीन दशकमा नेपालले विभिन्न सूचकमा उल्लेख्य प्रगति गरेको छः प्रेमप्रसाद दंगाल

काठमाडौँ । राष्ट्रिय सभामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का संसदीय दलका नेता प्रा. डा. प्रेमप्रसाद दंगालले विगत तीन दशकमा नेपालले उल्लेख्य प्रगति गरेको बताउनुभएको छ ।
राष्ट्रिय सभाको सोमवारको बैठकमा मुलुकमा केही पनि काम भएको छैन भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको भन्दै उहाँले विभिन्न सामाजिक तथा आर्थिक सूचकहरूका आधारमा नेपालले फड्को मारेको दाबी गर्नुभयो । नेता दंगालले प्रश्तुत गर्नुभएको तथ्याङ्कअनुसार वि.सं. २०४७ सालमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ खर्ब २० अर्ब रुपैयाँ मात्र रहेकोमा हाल ६६ खर्ब पुगेको छ । सोही अवधिमा प्रतिव्यक्ति आय १ सय ८५ अमेरिकी डलरबाट वृद्धि भई १५३५ डलर पुगेको छ । आर्थिक वर्ष २०४७÷४८ मा २३.५५ अर्ब रहेको वार्षिक बजेट हाल २१ खर्ब २४ अर्बभन्दा माथि पुगेको उनले जानकारी दिनुभयो ।
विश्व बैंकको प्रतिवेदनलाई उद्धृत गर्दै दंगालले नेपालमा चरम गरिबी ५५ प्रतिशतबाट घटेर ०.३७ प्रतिशतमा झरेको उल्लेख गरे। यस्तै, निरपेक्ष गरिबी ४२ प्रतिशतबाट २०.२७ प्रतिशतमा आएको छ । विगत दुई दशकमा औषत आर्थिक वृद्धिदर ४ प्रतिशतको हाराहारीमा रहेको र आर्थिक वर्ष २०७३÷७४ मा ८.६ प्रतिशतसम्म पुगेर नेपाल विश्वका तीव्र आर्थिक वृद्धि गर्ने १० देशभित्र पर्न सफल भएको उनले स्मरण गराउनु भयो ।
पूर्वाधार क्षेत्रको प्रगतिबारे बोल्दै उहाँले २०४७ सालमा ८ हजार ३२८ किलोमिटर रहेको सडक सञ्जाल हाल १ लाख ४ हजार किलोमिटर पुगेको बताउनु भयो । सञ्चार क्षेत्रमा प्रति ३ हजार नागरिक बराबर एक टेलिफोन रहेकोमा हाल प्रतिनागरिक एउटा टेलिफोनको पहुँच पुगेको छ । ऊर्जा क्षेत्रमा ३५ वर्षअघि २२७ मेगावाट रहेको जडित क्षमता हाल ४ हजार १०५ मेगावाट पुगेको छ । हाल ९९.१ प्रतिशत जनसंख्यामा विद्युत सेवा पुगेको र नेपालले भारततर्फ विद्युत निर्यात समेत शुरु गरिसकेको उनले बताउनु भयो । यस्तै, खानेपानीको पहुँच ३३ प्रतिशतबाट ९७ प्रतिशत र शौचालयको सुविधा २२ प्रतिशतबाट ९४ प्रतिशत पुगेको तथ्याङ्क उहाँले प्रश्तुत गर्नुभयो ।
दंगालकाअनुसार नेपाली नागरिकको औसत आयु ५५ वर्षबाट बढेर ७१.३ वर्ष पुगेको छ । मातृ मृत्युदर प्रति लाख ८५० बाट १५१ मा र बाल मृत्युदर प्रति हजार १३९ बाट २७ मा झरेको छ । शिक्षा क्षेत्रमा साक्षरता दर ३९.६ बाट ७६ प्रतिशत पुगेको छ ।
मानव विकास सूचकाङ्कमा नेपालले ०.४० बाट सुधार गरी हाल ०.६२२ पु¥याएको छ, जसले नेपाललाई ‘निम्न’ बाट ‘मध्यम’ मानव विकास भएको मुलुकको श्रेणीमा उकालेको छ । दिगो विकास लक्ष्यका सूचकाङ्कमा नेपाल विश्वका १६७ राष्ट्रमध्ये ८५ औँ स्थानमा रहेको छ ।
कृषिमा यान्त्रीकरणको उल्लेख गर्दै उहाँले १ प्रतिशतबाट बढेर ४० प्रतिशत परिवारले ट्याक्टर प्रयोग गरिरहेको र धान उत्पादन ३३ लाख मेट्रिक टनबाट करिब ६० लाख मेट्रिक टन पुगेको जानकारी दिनुभयो । सिंचाईका क्षेत्रमा रानी जमरा कुलरिया, सिक्टा, भेरी बबई र सुनकोसी मरिनजस्ता ठूला आयोजनाहरू सम्पन्न हुने चरणमा रहेको उहाँले बताउनु भयो ।–

Leave a Reply