लोडसेडिङको अँध्यारो युग पार गर्दै नेपाल विद्युत निर्यात गर्ने मुलुक बन्योः का.मु. कार्यकारी निर्देशक श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०८३, सोमबार

लोडसेडिङको अँध्यारो युग पार गर्दै नेपाल विद्युत निर्यात गर्ने मुलुक बन्योः का.मु. कार्यकारी निर्देशक श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका का.मु. कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले लोडसेडिङको अँध्यारो युग पार गर्दै नेपालले विद्युत उत्पादन, प्रसारण, वितरण र निर्यातमा उल्लेख्य उपलब्धि हासिल गरेको बताउनुभएको छ ।
नेपाल विद्युत प्राधिकरणको ४१ औँ वार्षिकोत्सबका अवसरमा सोमवार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले हाल विद्युत प्रशारण ग्रिड करिव ९८ प्रतिशत जनसंख्यामा पुगेको बताउनुभयो । प्रतिव्यक्ति विद्युत खपतसमेत अघिल्लो वर्षको तुलनामा बढेको उहाँले जानकारी दिनुभयो । उहाँले विद्युत प्रणालीको विस्तारसँगै सेवा गुणस्तर, विश्वसनीयता र आन्तरिक खपत बढाउन थप सुधार आवश्यक रहेको बताउनु भयो । उहाँकाअनुसार प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा नेपालमा विद्युत उत्पादन क्षमता ४ हजार १२० मेगावाट पुगेको छ । त्यस्तै, निजी क्षेत्रसँग १२ हजार १३५ मेगावाट क्षमताको विद्युत खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । उत्पादन बढ्दै जाँदा विद्युत खेर जान नदिन आन्तरिक खपत वृद्धि र अन्तरदेशीय विद्युत व्यापारलाई समेत प्राथमिकता दिएको उहाँले बताउनुभयो । भारत र बंगलादेशतर्फ विद्युत निर्यात गर्दै प्राधिकरणले गत आर्थिक वर्षमा मात्रै २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले प्राधिकरणको आगामी प्राथमिकता उत्पादन विस्तारसँगै विद्युत प्रणालीलाई थप विश्वसनीय र आधुनिक बनाउनु रहेको बताउनु भयो । जलाशय, सौर्य तथा अर्धजलाशययुक्त आयोजनाको प्रवर्धन, प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिता, उत्पादन–प्रशारण–वितरण प्रणालीको आधुनिकीकरण र चुहावट नियन्त्रणलाई अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले हालको उपलब्धिमा सन्तुष्ट भएर बस्ने अवस्था नरहेको पनि बताउनुभयो । उहाँका अनुसार देशभित्रै विद्युत खपत बढाएर आर्थिक तथा सामाजिक मूल्य सिर्जना गर्ने, विद्युत चुहावट थप घटाउने र हरित ऊर्जाको युगमा नेपाललाई अग्रणी मुलुक बनाउनेतिर लाग्नुपर्ने बताउनु भयो ।

Leave a Reply