लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग १३०५ मेगावाट, ३८० मेगावाट निर्यात | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग १३०५ मेगावाट, ३८० मेगावाट निर्यात

काठमाडौं। तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमाण्ड) १३०५ मेगावाट पुगेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन विद्युतको पिक डिमाण्ड १२७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी १३०५ मेगावाट पुगेको हो । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन सोमबार साँझ ६ः१० बजे पिक डिमाण्ड १३०५ मेगावाट रेकर्ड गरेको हो । प्राधिकरणका स्वामित्वका नदी प्रवाहमा आधारित विद्युतगृहबाट ४३५.२ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको स्वामित्वका माथिल्लो तामाकोसी, खिम्ती–१ तथा चिलिमबाट ४८२.२ मेगावाट र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुबाट ७६७.५ मेगावाट विद्युत उत्पादन गरी आपूर्ति गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकसहितको टोली स्यूचाटारस्थित भार प्रेषण केन्द्रबाट लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि खटिएको थियो । विनाअवरोध देशभरी विद्युत आपूर्ति गर्न प्राधिकरण सफल भएको छ ।
विगतका वर्षहमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले माग धान्ने मात्र हैन खपत हुन नसकेर बढी हुन थालेको छ । प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाको पिक डिमाण्ड धान्नको लागि कुलेखानी जलाशययुक्त जलविद्युत केन्द्र समेत सञ्चालन गरेन । कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत उत्पादन हुन्छ । यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ३८० मेगावाट विद्युत भारत निर्यात गरिएको र २०० मेगावाट विद्युत खपत गर्न नसकिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गरिरहेको छ ।

प्राधिकरणले गत असार २८ गते देशभित्रको पिक डिमाण्ड सबैभन्दा बढी १७४७.५३ मेगावाट रेकर्ड गरेको थियो । देशभित्रको विद्युत खपत र भारततर्फको निर्यासहित लक्ष्मीपूजाको दिन प्रणालीको पिक डिमाण्ड १६८५ मेगावाट रेकर्ड गरिएको छ । यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३४२ मेगावाट छ । गत वर्ष ३२०.६४ मेगावाट थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);