यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्डबर्गले यमनमा फेरि ठूलो स्तरको सैन्य द्वन्द्व निम्तिन सक्ने उच्च जोखिम रहेको चेतावनी दिनुभएको छ । बिहीवार सुरक्षा परिषद्लाई भिडियो लिंकमार्फत सम्बोधन गर्दै विशेष दूत ग्रुन्डबर्गले सन् २०२२ मा राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविरामयताकै सबैभन्दा गम्भीर अवस्था अहिले सिर्जना भएको बताउनु भयो । ग्रुन्डबर्गकाअनुसार यमनका विभिन्न अग्रपंक्ति (फ्रन्टलाइन) हरूमा सैन्य गतिविधिहरू तिब्र भएका छन् । विशेषगरी मारिब, हद्रामौत र मोखा लगायतका क्षेत्रमा अंसार अल्लाह (हुथी विद्रोही समूह) ले गरेका पछिल्ला आक्रमणहरूका कारण सैन्य कर्मचारी र सर्वसाधारणको ज्यान गएको उहाँले जानकारी दिनुभयो ।
लाल सागर र आदेनको खाडीमा व्यावसायिक जहाजहरूमाथि हुथी समूहले गरिरहेको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै ग्रुन्डबर्गले भन्नुभयो, ‘यी आक्रमणहरूले यमनलाई क्षेत्रीय टकरावको भुमरीमा अझ गहिरो गरी धकेल्ने जोखिम बढाएको छ ।’ यस्ता आक्रमणहरूले नाविकहरूको ज्यान जोखिममा पारेको र हालै भएको एक मिसाइल प्रहारमा परी जहाजका धेरै चालक दलका सदस्यहरूको मृत्यु भएको तथ्य पनि उहाँले स्मरण गराउनु भयो ।
यमनमा तनावका संकेतहरू पहिलेदेखि नै देखिन थालेको उल्लेख गर्दै ग्रुन्डबर्गले गत जुलाईमा तेहरानबाट सानाका लागि भएको अनधिकृत उडान, साना विमानस्थलमा भएका हवाई आक्रमण र साउदी अरबका तेल प्रशोधन केन्द्रहरूमा भएका मिसाइल प्रहारले स्थितिलाई थप जटिल बनाएको बताउनु भयो ।
दशक लामो द्वन्द्वका कारण यमनका राज्य संयन्त्रहरू छिन्नभिन्न भएको र अर्थतन्त्र अर्को धक्का सहन नसक्ने गरी कमजोर भएको अवस्थामा पुनः युद्ध शुरु हुनु मुलुकका लागि घातक हुने उहाँको ठहर छ ।
ग्रुन्डबर्गले चेतावनी दिँदै भन्नुभयो, ‘पुनः युद्ध शुरु हुनुको अर्थ यमनी जनताको सामान्य जीवन, शिक्षा र रोजगारीका सपनाहरू फेरि धरापमा पर्नु हो । यसले नयाँ पुस्तालाई देशको भविष्य निर्माण गर्ने अवसरबाट वञ्चित गरी युद्धको मैदानमा धकेल्नेछ । साथै, पहिले नै अशान्त रहेको यस क्षेत्रमा अर्को एउटा भीषण युद्ध थपिनेछ ।’




