आरोपलाई सत्य ठहर्‍याउने मानसिकता त्याग्न र तथ्यपरक अनुसन्धान गर्न सांसद ओलीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८३, बुधवार

आरोपलाई सत्य ठहर्‍याउने मानसिकता त्याग्न र तथ्यपरक अनुसन्धान गर्न सांसद ओलीको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संसदीय समितिमा उजुरी र आरोपमाथि छलफल गर्दा पूर्वाग्रही मानसिकता त्यागेर तथ्य र प्रमाणमा आधारित हुनुपर्ने बताउनुभएको छ । बुधवार आयोजित सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद ओलीले समितिका सदस्यहरू कुनै पनि उजुरीमाथि छलफल गर्न आउँदा आरोपलाई पहिले नै सत्य ठह¥याउने मनशायले आउनु उचित नभएको बताउनुभएको हो । सांसद ओलीले समितिमा बोलाइएका जिम्मेवार अधिकारीहरूप्रति गरिने व्यवहार मर्यादित हुनुपर्ने बताउनु भयो । राष्ट्रको सेवामा जीवन बिताएका कर्मचारी र सुरक्षा निकायका प्रमुखहरूमाथि गरिने तिखो टिप्पणी र अमर्यादित व्यवहारले समितिको गरिमा घटाउने उहाँको तर्क छ । नेपाल प्रहरीको सामान खरिद प्रक्रियामा लागेको ‘स्पेसिफिकेसन सेटिङ’ को आरोपका सम्बन्धमा ओलीले यसलाई प्राविधिक रूपमा परीक्षण गरिनुपर्ने धारणा राख्नुभयो ।

विशेषगरी ‘स्पोट्र्स सुज’ को स्पेसिफिकेसनका विषयमा उठेका प्रश्नहरूलाई निरुपण गर्न स्वतन्त्र विशेषज्ञको सहयोग लिनुपर्ने उहाँले सुझाव दिनुभयो । सार्वजनिक खरिद अनुगमन कार्यालयले बिड डकुमेण्टमा त्रुटी देखाएर सच्याउन पत्राचार गरेको दाबीका सम्बन्धमा समितिले सम्बन्धित सबै सक्कल कागजात मगाएर अध्ययन गर्नुपर्ने उहाँले माग गर्नुभयो । एकै सप्लायरको प्रभुत्व रहेको भन्ने आरोपका सम्बन्धमा उहाँले भावनात्मक कुराभन्दा पनि तथ्याङ्कको विश्लेषण महत्वपूर्ण हुने बताउनु भयो । उहाँले विगत पाँच वर्षको तथ्याङ्क, बोलपत्रको मूल्य, प्राविधिक योग्यता र स्पेसिफिकेसनमा भएको परिवर्तनको विश्लेषण गरेर मात्र कुनै धारणा बनाउनु वैज्ञानिक हुने उल्लेख गर्नुभयो । ६० करोड रुपैयाँको भ्रष्टाचार भएको भनिएको दाबीलाई पनि वस्तुगत आधारमा पुष्टि गरिनुपर्ने उहाँको भनाइ छ । सांसद ओलीले समितिले कुनैपनि पदाधिकारीलाई बोलाउनुअघि आन्तरिक रूपमा तयारी गर्ने र कागजातको पर्याप्त अध्ययन गर्ने परिपाटी बसाल्नुपर्ने सुझाव दिनुभयो । मिडिया खपतका लागि चर्को स्वरमा बोल्ने र पर्याप्त प्रमाणविना नै राजीनामा माग्ने वा दोषी करार गर्ने प्रवृत्तिले संस्थागत जवाफदेहिता प्रवद्र्धन नगर्ने उहाँको निष्कर्ष छ ।

Leave a Reply

ताजा समाचार