टर्कीका विदेशमन्त्री हकान फिदानले हालै हस्ताक्षरित मक्का संयुक्त रक्षा सम्झौता इरान लक्षित नभएको स्पष्ट पार्नुभएको छ । शनिवार टर्कीको अनादोलु एजेन्सीसँग कुरा गर्दै विदेशमन्त्री फिदानले उक्त सम्झौता पूर्ण रूपमा रक्षात्मक प्रकृतिको भएको र यसले हस्ताक्षरकर्ता राष्ट्रहरूलाई वाह्य आक्रमणबाट जोगाउने उद्देश्य मात्र राखेको बताउनु भयो । विदेशमन्त्री फिदानकाअनुसार यो सम्झौताको तयारी विगत दुई वर्ष आठ महिनादेखि भइरहेको थियो । यस प्रक्रियामा हस्ताक्षरकर्ता राष्ट्रहरूका साथै अन्य क्षेत्रीय देशहरू पनि संलग्न रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले कुनै पनि मुलुकलाई लिखित रूपमा साझा खतराका रूपमा उल्लेख गरेका छैनौँ । यो सम्झौताले त्यस्ता कुनै पनि देशलाई निशाना बनाउँदैन जसले हस्ताक्षरकर्ता राष्ट्रहरूमाथि आक्रमण गर्दैन । इरान यस सम्झौताको निशानामा छैन ।’
उहाँले यस सम्झौतालाई प्राविधिक रूपमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को धारा ५ को सामूहिक रक्षा प्रणालीसँग तुलना गर्नुभयो । यस व्यवस्था अन्तर्गत, सदस्य राष्ट्रहरूले एक–अर्काबाट सुरक्षात्मक सहयोग प्राप्त गर्न सक्नेछन् । आक्रमणमा परेको देशले आफ्नो आवश्यकता अनुसार गुप्तचर सूचना, सैन्य उपकरण वा सैन्य इकाइ लगायतका सहयोग माग गर्नसक्ने प्रावधान रहेको छ । सम्झौता कार्यान्वयनका लागि विदेश र रक्षा मन्त्रीहरू तथा प्रधान सेनापतिहरू सम्मिलित एक राजनीतिक र सैन्य समिति रहने र यसको सचिवालय साउदी अरबमा रहने बताइएको छ ।
फिदानले इजिप्टलाई यस सम्झौताको प्राकृतिक साझेदार भन्दै आगामी चरणमा इजिप्ट पनि यसमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँकाअनुसार अन्य थुप्रै देशहरूले पनि यस गठबन्धनमा सामेल हुन चासो देखाएका छन् ।
साउदी अरब, टर्की र पाकिस्तानबीच शुक्रबार साउदी अरबको मक्कामा उक्त सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार तीन मध्ये कुनैपनि एक देशमाथि भएको सशस्त्र आक्रमणलाई सबै राष्ट्रमाथिको आक्रमण मानिनेछ । मध्यपूर्वमा बढ्दो भू–राजनीतिक तनावका बीच यो महत्वपूर्ण रक्षा सम्झौता भएको हो ।





