काठमाडौ ।
जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राज्यका शक्तिहरू एकै ठाउँमा केन्द्रित हुँदा मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको टिप्पणी गर्नुभएको छ ।
शनिवार काठमाडौँमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालन पद्धतिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको हो । अध्यक्ष यादवले संवैधानिक निकाय र मन्त्रालयहरू स्वतन्त्र रूपमा काम गर्न नसकी निष्प्रभावी (डिफङ्क्ट) भएको दाबी गर्नुभयो । विगतका जनआन्दोलन, मधेस जनविद्रोह तथा आदिवासी जनजाति र थारू लगायतका आन्दोलनबाट प्राप्त संघीयता, समावेशिता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता उपलब्धिहरूमाथि राज्यकै तर्फबाट प्रहार भइरहेको उहाँको आरोप छ । ती उपलब्धिहरूको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि नै मोर्चा निर्माण गरिएको उहाँले प्रस्ट पार्नुभयो । संविधान निर्माण प्रक्रियामाथि प्रश्न उठाउँदै पूर्वउपप्रधानमन्त्री यादवले विगतमा संविधानसभाबाट संविधान जारी नभई केही दलहरूले ‘संविधानको किताव’ मात्र पारित गराएको टिप्पणी गर्नुभयो । हाल मुलुक संविधानभन्दा बाहिरबाट चलिरहेको जिकिर गर्दै उहाँले संविधान संशोधनमार्फत विभेद र असमानता अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकमा सुशासनको अभाव, बढ्दो भ्रष्टाचार, कमजोर शान्ति–सुरक्षा र जर्जर आर्थिक अवस्थाप्रति सङ्केत गर्दै उहाँले वैदेशिक ऋणको भारले अर्थतन्त्र थप सङ्कटमा परेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘निर्णय प्रक्रिया र शक्तिको केन्द्रीकरण एकै ठाउँमा हुनु सर्वसत्तावादको परिचायक हो । यस्तो प्रवृत्तिले अन्ततः अधिनायकवादलाई जन्म दिन्छ र लोकतान्त्रिक मूल्य–मान्यतालाई समाप्त पार्छ । हामीले मेची–महाकाली सङ्घर्षमार्फत विभेदकारी प्रावधानहरू नराख्न र संविधानलाई समावेशी एवं न्यायपूर्ण बनाउन माग गरेका थियौँ, तर राज्यले दमन र हत्या गरेर जबर्जस्ती संविधान घोषणा ग¥यो । मुलुक राजनीतिक अन्योल र अनिश्चिततातर्फ गइरहेको छ । यसलाई रोकेर सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिको दिशामा अग्रगामी निकास दिन साझा प्रयास स्वरूप यो मोर्चा निर्माण भएको हो ।’
उहाँले यो मोर्चा कसैको सत्ता पल्टाउनका लागि मात्र नभई मुलुकमा सामाजिक न्याय, सुरक्षा र अग्रगामी परिवर्तन सुनिश्चित गर्नका लागि क्रियाशील रहने स्पष्ट पार्नुभयो । सरकारमा रहेकाहरू मोर्चाको गठनबाट त्रसित हुनु नपर्ने भन्दै उहाँले स्पष्ट लक्ष्यका साथ आफूहरू अघि बढेको बताउनु भयो ।




