अमेरिकी सिनेटद्वारा एरिका श्वाट्र्ज सीडीसीको निर्देशकमा अनुमोदित | ईमाउण्टेन समाचार

Our Network

साउन २० २०८३, बिहीबार

अमेरिकी सिनेटद्वारा एरिका श्वाट्र्ज सीडीसीको निर्देशकमा अनुमोदित

अमेरिकी माथिल्लो सदन सिनेटले एरिका श्वाट्र्जलाई सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को निर्देशकमा नियुक्त गर्ने प्रस्ताव बहुमतले पारित गरेको छ । बुधवार भएको मतदानमा श्वाट्र्जको पक्षमा ५१ र विपक्षमा ४४ मत परेको थियो । मुख्यतया दलीय आधारमा भएको यस मतदानसँगै करिव एक वर्षदेखि कार्यवाहकको भरमा चल्दै आएको सीडीसीले पूर्णकालीन नेतृत्व पाएको छ । श्वाट्र्जले राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा डेपुटी सर्जन जनरलको रूपमा जिम्मेवारी सम्हालेकी थिइन् । उनी ट्रम्प प्रशासनले विगत दुई वर्षमा सीडीसी प्रमुखका लागि अघि सारेका व्यक्तिहरूमध्ये तेस्रो उम्मेदवार हुन् ।
यसअघि, राष्ट्रपति ट्रम्पले फ्लोरिडाका पूर्व सांसद एवं चिकित्सक डेभिड वेल्डनलाई मनोनयन गरेका थिए । तर सिनेटमा पर्याप्त समर्थन जुट्न नसक्ने देखिएपछि सन् २०२५ मार्चमा उनको मनोनयन फिर्ता लिइएको थियो। त्यसपछि सुसन मोनरेज सीडीसी निर्देशकमा नियुक्त भएकी थिइन्, तर खोप नीतिका विषयमा स्वास्थ्य तथा मानव सेवा (एचएचएस) सचिव रोबर्ट एफ. केनेडी जुनियरसँगको मतभेदका कारण उनलाई नियुक्ति भएको एक महिनामै पदमुक्त गरिएको थियो ।
मोनरेजको बहिर्गमनपछि एचएचएसका डेपुटी सचिव जिम ओ’निललाई कार्यवाहक निर्देशक तोकिएको थियो । उनले पनि सन् २०२६ फेब्रुअरीमा विभाग छोडेपछि नेशनल इन्स्टिच्युट अफ हेल्थका निर्देशक जय भट्टाचार्यले कार्यवाहक प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।
नवनियुक्त निर्देशक श्वाट्र्जले यस्तो समयमा पदभार ग्रहण गर्दैछिन्, जतिबेला अमेरिकाले दादुरा (मिजल्स) र साइक्लोस्पोरियासिस जस्ता आन्तरिक प्रकोपका साथै अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण जस्ता गम्भीर जनस्वास्थ्य चुनौतीहरूको सामना गरिरहेको छ ।

Leave a Reply