चिलीको प्रतिष्ठित फुटबल क्लव कोलो कोलोले क्याबो भर्डेका अनुभवी गोलरक्षक भोजिन्हालाई आधिकारिक रूपमा सार्वजनिक गरेको छ । सन् २०२६ को फिफा विश्वकपमा फुटबल प्रशंसकहरूद्वारा उत्कृष्ट गोलरक्षक चुनिएका ४० वर्षीय भोजिन्हालाई क्लबले आफ्नो नयाँ खेलाडीका रूपमा भित्र्याएको हो । जोसिमार जोसे एभोरा डियास वास्तविक नाम रहेका भोजिन्हालाई मंगलबार सान्टियागोस्थित मोनुमेन्टल डेभिड एरेलानो रंगशालामा आयोजित एक भव्य समारोहमा दर्जनौँ सञ्चारकर्मीमाझ सार्वजनिक गरियो । सो अवसरमा बोल्दै भोजिन्हाले फुटबलप्रतिको आफ्नो लगाव र क्लबप्रतिको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘फुटबल एक महान खेल हो र हामीले सबैको सम्मान गर्नुपर्छ । मलाई खेल्न र प्रशिक्षण गर्न निकै रुचि छ, त्यसैले म दैनिक रूपमा कडा मेहनत गर्नेछु । ४० वर्षको उमेरमा यहाँ हुनु मात्र मेरो उद्देश्य होइन; म कोलो कोलोका अध्यक्षले मप्रति राख्नुभएको विश्वासलाई हरेक दिन न्याय गर्नेछु। क्लबको लक्ष्य प्राप्तिमा सहयोग गर्न म आफ्नो तर्फबाट उच्चतम प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
कोलो कोलो चिलीको इतिहासकै सबैभन्दा सफल फुटबल क्लव मानिन्छ । सन् १९९१ मा दक्षिण अमेरिकाको प्रतिष्ठित क्लव प्रतियोगिता कोपा लिबर्टाडोरेस जित्ने यो चिलीको एकमात्र टोली हो । हाल यो क्लब चिलीको प्राइमेरा डिभिजनको अंक तालिकामा १७ खेलबाट ४२ अंक बटुल्दै शिर्ष स्थानमा रहेको छ । कोलो कोलो दोस्रो स्थानमा रहेको युनिभर्सिडाड डे चिलीभन्दा स्पष्ट १२ अंकले अगाडि छ ।




