ए डिभिजन विशेष : मनाङलाई युवा खेलाडीको भर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ए डिभिजन विशेष : मनाङलाई युवा खेलाडीको भर

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको कीर्तिमानी आठौं पटकको विजेता हो, मनाङ मर्स्याङ्दी क्लब । सी डिभिजनबाट प्रत्येक वर्ष बढुवा हुँदै ए डिभिजनसम्म आइपुग्ने कीर्तिमान यसै क्लबसँग छ ।

व्यावसायिक रूपमा निकै नै सफल मनाङ घरेलु शीर्ष डिभिजन लिगमा सधैँ उपाधि दाबेदारी प्रस्तुत गर्दै आइरहेको हुन्छ । राष्ट्रिय टोली तथा उमेर समूहका खेलाडी लिग समय मनाङ क्लबमै  हुन्छन् । 

नेपाली क्लबहरूबीच खेलाडीका लागि पैसा खर्च गर्ने क्लबको रूपमा चिनिन्छ मनाङ । त्यसैले नै ठूला र स्टार खेलाडीहरू मनाङमा अनुबन्धन हुन रुचाउँछन् । एक जमना थियाे, खेलाडीबीच मनाङमा अनुबन्धन हुन निकै प्रतिस्पर्धा चल्थ्यो । 

तर, पछिल्लो समय भने त्यस्तो वातावरण छैन । मनाङभन्दा अन्य क्लबले धेरै खेलाडीको लागि लगानी गर्न थालेका छन् । गत सिजन त मनाङका करिब एक दर्जन खेलाडी नै एकै पटक मछिन्द्र फुटबल क्लब पुगे । 

त्यसपछि मनाङले युवा टोली बनाएर जसोतसो लिग समाप्त पार्‍याे । तिनै युवा खेलाडीले मनाङलाई तेस्रो स्थानमा अड्काए । यस पटक समेत मनाङ पुनः युवा खेलाडीको भरमा लिगमा होमिँदै छ । २९ कात्तिकबाट सुरु हुँदै गरेको लिगको लागि मनाङले युवा खेलाडी तयार पारेर तयारीमा तीव्रता दिएको छ । 

हाल मनाङले आफ्नो घरेलु मैदानको रूपमा पोखरा रंगशालालाई अगाडि ल्याएको छ । लिग हुँदै छ काठमाडाैँ उपत्यकामा । मनाङको टोली उपत्यकामै रहेर अभ्यास सत्र बढाइरहेको छ । 

टोलीमा अधिकांश युवा खेलाडी छन् । राष्ट्रिय फुटबल र नेपालको उमेर समूहबाट खेलेका खेलाडी मनाङमा छन् । मनाङको कप्तानी अन्जन बिष्टले गर्नेछन् । उनलाई  दिनेश राजवंशी, विशाल सुनार (गोलरक्षक), आदित्य चौधरी, प्रवेश दनुवार, दिपक राई, पुजन उपरकोटी, विमल राना, विश्व अधिकारी तथा विदेशी खेलाडीहरू आफिज ओलावाले र एडेलाजा सोमिडेले साथ दिनेछन् । 

मनाङ यिनै खेलाडीको यात्रासँगै आफ्नो निर्धारित दूरीमा पुग्ने लक्ष्यमा छ । हरेक दुई वर्षमा परिवर्तन हुने कार्यसमितिका कारण मनाङले लिगको केही अघिमात्र तयारी सुरु गर्छ र खेलाडीलाई समेत लामो समय अनुबन्धन गर्न पाउँदैन । 

यस सिजनमा क्लब युवा खेलाडीको भरमा लिगको दाबेबारी प्रस्तुत गर्ने लक्ष्यमा छ । टोलीका प्रशिक्षक राजेन्द्र तामाङ तयारी राम्रो भएको र लिगमा राम्रो चुनौती पेस गर्ने न्युज कारखानालाई बताउँछन् ।

‘लिगको तयारी राम्रो भइरहेको  छ । अझै केही खेलाडी आउने क्रम जारी छ । व्यवस्थापक पाटो पनि राम्रो भएकाले खेलाडीले राम्रो नतिजा दिनेमा विश्वस्त छु’,  गत दुई सिजन विभागीय एपीएफ फुटबल क्लबलाई प्रशिक्षण दिएका ए लाइसेन्स प्राप्त राजेन्द्र भन्छन् । 

मनाङले यस पटकसमेत ए लाइसेन्समा राजेन्द्रलाई राखेर फुजा तोपेलाई प्रशिक्षकमा भित्र्याउने तयारी गरेको छ । फुजा केही दिनमा नेपाल झर्नेछन् । फुजाको प्रशिक्षणमा मनाङले विना रेलिगेशनको लिगमा कीर्तिमानी आठौं पटक लिगको उपाधि हात पारेको थियो । गत सिजन मनाङले फुजाको प्रशिक्षणमा चौथो स्थान हासिल गरेको थियो । 

विदेशी खेलाडी आफिल  एडेलाजाको भर  

युवा खेलाडीले भरिएको मनाङ यस पटक पनि विदेशी खेलाडको महत्वपूर्ण प्रदर्शनमा राम्रो नजिता लिने दाउमा छ । जसका लागि मनाङले अट्याकमा नेपालमा अभ्यस्त भइसकेका आफिज ओलावाले र एडेलाजा सोमिडेलाई भित्र्याएको छ । 

विना रेलिगेशनका लिगमा दुवै खेलाडीले मनाङबाट प्रभावशाली प्रदर्शन गरेका थिए । त्यसपछिको लिगमा आफिज नेपालमै रहेनन् भने एडेलाजा मछिन्द्र लागेका थिए । मनाङलाई कीर्तिमानी आठौं पटक लिग जिताउँदा आफिजले सात गोल गरेका थिए भने एडेलाजाले चार गोल गरेका थिए । यस्तै साविक विजेता मछिन्द्रलाई पहिलो पटक लिगको उपाधि दिलाउँदा एडेलाजाले चार गोल गरेका थिए । 

पछिल्लो समय भएको नेपाल सुपर लिग (एनएसएल) मा समेत दुवै खेलाडीले क्लबका लागि राम्रो प्रदर्शन दिएका थिए । एनएसएलमा आफिज धनगढीका लागि चार गोल गर्दा एडेलाजाले विराटनगरको लागि दुई गोल गरेका थिए । त्यसैले मनाङले यस सिजनको लिगमा समेत अग्रपंक्तिमा दुई खेलाडीबाट ठूलो आशा गरेको छ । 

हालसम्म मनाङले अनुबन्धन गरेका खेलाडी 

अन्जन बिष्ट (कप्तान ) दिनेश राजवंशी, विशाल सुनार (गोलरक्षक), आदित्य चौधरी, प्रवेश दनुवार, दिपक राई, पुजन उपरकोटी, विमल राना, विश्व अधिकारी आफिज ओलावाले, एडेलाजा सोमिडे, अशोक बराल, एकराज  गुरुङ, दिपक राई, सरोज योञ्जन  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);