मछिन्द्र नयाँ शक्तिको रूपमा उदाउँदा च्यासल र बीबीसीको हैसियत गुम्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मछिन्द्र नयाँ शक्तिको रूपमा उदाउँदा च्यासल र बीबीसीको हैसियत गुम्यो

काठमाडौं । मछिन्द्र फुटबल क्लबले आफ्नो ११औं खेलको क्लिन सिट गुमाउँदा विभागीय एपीएफ फुटबल क्लबसँग २-१ अन्तरले विजयी रहँदै सहिद स्मारक ‘ए’ डिभिजन लिग-२०७८ को उपाधि चुम्यो । १३ खेलमा अपराजित रहँदै उपाधि जित्दा मछिन्द्र नेपाली फुटबलको उदाउँदो शक्तिको रुपमा अगाडि आयो ।

अन्तिम खेलमा निकै नै दबाबका बीच एपीएफविरुद्ध जित निकालेको मछिन्द्रले दोस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लबभन्दा नौ अंकले अग्रता बनायो । लगातार ११ खेलको ‘क्लिन सिट’ गुमाएको मछिन्द्रले लगातार शीर्ष डिभिजनमा आफ्नो हैसियत प्रस्ट पार्‍याे । 

आधा दर्जनभन्दा बढी राष्ट्रिय टोलीका नियमित सदस्य अनुबन्धन गरेको मछिन्द्रले आफू नेपाली फुटबलको नयाँ शक्ति रहेको जनायो । अपराजित यात्रा कायम रहँदा मछिन्द्रको प्रदर्शनसमेत अन्य टोलीको तुलनामा उच्च रह्यो । १३ खेलमा ११ जित र २ बराबर गरेको मछिन्द्रले शीर्षस्थानमा ३२ अंक जोड्यो । 

अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबविरुद्ध १-१ गाेल अन्तरको बराबरी खेल्दै आर्मी दोस्रो स्थानमा रहन सफल भयो । गत वर्ष-२०७६ मा समेत अन्तिम खेलमा आएर विजेता बन्नबाट चुकेको आर्मी यस सिजनमा समेत अन्तिम खेलमा आएर उपविजेता बन्यो । आर्मीले १३ खेलमा पाँच जित, आठ बराबरीसहित २३ अंक जोड्यो र हेड टू हेडमा एनआरटी फुटबल टिमलाई पछाडि पार्‍याे । 

अन्तिम खेलमा विदेशी खेलाडी मेसोउके ओलोमोउको ह्याटिक प्रेरित एनआरटीले नेपाल पुलिस क्लबलाई ३-१ अन्तरले पराजित गरे पनि आर्मीसँग १-० ले पराजित हुँदाको घाटा तेस्रो स्थानमा चित्त बुझाउनु पर्‍याे । 

यता, ‘जायन्ट क्लियर’ को रुपमा चिनिएको नवप्रवेशी सातदोबाटोले आशालाग्दो प्रदर्शनसँगै शीर्ष डिभिजन लिगमा आफ्नो बलियो उपस्थिति जनायो । उनले मनाङ, पुलिस र थ्री स्टार क्लब जस्ता बलियो टिमलाई पराजित गर्‍याे । ६ जित, तीन बराबर र चार हार व्यहोर्दै चौथो स्थानमा रहँदै सुखद् अन्त्य गर्‍याे । सातदोबाटो लिगको ‘फेयर प्ले टिम’समेत घोषित भयो । 

यता, मनाङ भने पछिल्लो समय पहिलेको मनाङ रहेन । खराब प्रदर्शन गर्दै पछिल्लो दशक मनाङको स्वरुप पहिले जस्तो नरहेको जनायो । कीर्तिमानी आठौं पटक लिगको उपाधि जितेको मनाङले यस सिजन छ जित, तीन बराबरी र चार खेलमा हार बेहोर्दा २१ अंकसहित पाँचौ स्थानमा लिग टुंग्यायो । 

यता, थ्री स्टार र संकटासमेत खराब स्थितिमा रहे । दुबै टोलीले सोचअनुसार प्रदर्शन गर्न सकेनन् । थ्री स्टार क्लब १९ अंकसहित छैटौं स्थानमा रह्यो भने १६ अंकको संकटा क्लब सातौँ स्थानमा चित्त बुझायो । 

यता, पाँचौं चरणसम्म रेलिगेसन क्षेत्रमा रहेको एपीएफ अन्तिम खेलसम्म लगातार संघर्ष गर्दै आठौं स्थानमा लिग टुंग्यायो । यता, जावलाखेल युथ क्लबसमेत सुधारिएको प्रदर्शन गर्दा नवौं स्थानमा रह्यो । हिमालयन शेर्पाले सन्तुलित प्रदर्शन गर्दा १० औं स्थानमा बनायो । यता, राष्ट्रिय टोलीका सदस्यसमेत रहेको पुलिसले समेत आफ्नो खराब प्रदर्शनलाई निरन्तरता दियो । 

उसले दुई मात्र जित दर्ता गराउँदा ६ बराबर र पाँच खेलमा हार व्यहाेर्‍याे र ११औं स्थानमा चित्त बुझायो । आधुनिक फुटबलको लिगमा ह्याट्रिक उपाधि चुमेको पुलिस यस सिजन भने आफ्नो स्तर अनुसारको प्रदर्शन दिन असक्षम देखियो । फ्रेन्डस् भने निकै संघर्ष गर्दै ए डिभिजन लिगको हैसियत कायम राख्यो । ११ अंक बनाएको फ्रेन्ड्स १२औं स्थानमा रह्यो । 

यता, अखिल नेपाल फुटबल संघ (एन्फा)को नियमअनुसार च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) दोस्रो डिभिजनमा घटुवा भए । यस सिजन सुरुवातबाटै लय समात्न नसकेको दुबै क्लबले शीर्ष डिभिजनका हैसियत गुमाए । अब, दुबै टोलीले आगामी वर्ष ‘बी’ डिभजिन लिग खेल्नुपर्नेछ । च्यासल ६ अंकसहित पुछारमा रह्यो भने बीबीसी आठ अंकसहित १३औं स्थानमा रह्यो । 

सिंगल राउण्ड रोबिनको आधारमा भएको लिगमा कूल ९१ खेल भएका थिए । जहाँ १९० गोल हुँदा औसत दुई दशमलब ०८ गोल भए । लिगमा तीन ह्याट्रिक हुँदा सबै ह्याट्रिक विदेशी खेलाडीको नाममा रह्यो । सातदोबोटोका अजयी मार्टिन्स, मनाङका आफिज ओलावाले र एनआरटीका मेसुओके ओलेमोउले ह्याटिङ पुरा गरे ।

समान सात गोल पुर्‍याएपछि मेसुओकेलाई पछि पार्दै फ्रेन्ड्सका जामोउल एन्थोनी फ्रान्कोइस् लिगको कम खेल खेलेका कारण सर्वाधिक गोलकर्ता चुनिए । यस्तै ११ क्लिन सिट राखेका मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट गोलरक्षक प्राप्त गर्दा प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी मछिन्द्रकै सुनील बल घोषित भए । प्रतियोगिताको राईजिङ प्लेयर भने आर्मीका दिनेश राजवंशी चुनिए । 

मछिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले लगातार उपाधि जितेपछि सहज उपाधिको रुपमा लिए । ‘लिगको सुरुवातदेखि सात खेलसम्म हामीलाई केही गाह्रो भयो । तर, नवौं खेलपछि सहज हुँदै गयो । खेल जित्दै गएपछि विपक्षीसँग दूरी बढाउँदै गयौं र सहज रुपमा लिग जित्याैँ  ।’ लगातार शीर्ष डिभिजन लिग उपाधि र मछिन्द्रलाई पहिलो पटक एएफसी कपमा छनोट गराएका कटुवालले भने । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);