दक्षिण कोरियामा सरकारी वकिलको अनुसन्धान अधिकार कटौती गर्ने विधेयक मन्त्रिपरिषद्बाट पारित | ईमाउण्टेन समाचार

Our Network

साउन १९ २०८३, बुधवार

दक्षिण कोरियामा सरकारी वकिलको अनुसन्धान अधिकार कटौती गर्ने विधेयक मन्त्रिपरिषद्बाट पारित

दक्षिण कोरियाको मन्त्रिपरिषद्ले सरकारी वकिलहरूको अनुसन्धान गर्ने अधिकार कटौती गर्ने एक महत्वपूर्ण विधेयक पारित गरेको छ । ७० वर्षभन्दा लामो इतिहास बोकेको देशको फौजदारी न्याय प्रणालीमा यसलाई एक ऐतिहासिक सुधारको रूपमा हेरिएको छ । फौजदारी कार्यविधि ऐनमा गरिएको यस संशोधनमार्फत सरकारी वकिलहरूलाई प्रत्यक्ष र पूरक दुवै प्रकारका अनुसन्धान गर्ने अधिकारबाट वञ्चित गरिएको छ । यस नयाँ व्यवस्थाले अनुसन्धान र अभियोजनको कार्यलाई पूर्ण रूपमा अलग गरेको छ । मन्त्रिपरिषद् बैठकमा बोल्दै राष्ट्रपति ली जे म्युङले अभियोजन पक्षले दशकौंदेखि अनुसन्धानदेखि अभियोग दर्ता र वारेन्ट अनुरोधसम्मका सम्पूर्ण प्रक्रियामा असीमित शक्तिको प्रयोग गर्दै आएको बताउनु भयो । राष्ट्रपति लीकाअनुसार यस असामान्य संरचनाका कारण अभियोजन पक्षले आफ्नो शक्तिको दुरुपयोग गर्दै कतिपय मुद्दाहरूलाई दबाउने वा निश्चित व्यक्तिहरूलाई मात्र लक्षित गर्ने कार्य गर्दै आएको थियो । उहाँले अनुसन्धान र अभियोजनको पृथकीकरण नै न्याय प्रणालीलाई व्यवस्थित बनाउने पहिलो कदम भएकोमा जोड दिनुभयो । आगामी अक्टोबर २ देखि लागू हुने संशोधित ऐनअनुसार, अब सबै फौजदारी अनुसन्धानको जिम्मेवारी प्रहरी, उच्च पदस्थ अधिकारीहरूको भ्रष्टाचार अनुसन्धान गर्ने निकाय र नयाँ स्थापना गरिने गम्भीर अपराध अनुसन्धान निकायमा हस्तान्तरण गरिनेछ ।
नयाँ कानूनी व्यवस्थाअनुसार सरकारी वकिलहरूलाई कुनै पनि प्रकारको अनुसन्धान गर्ने, संदिग्ध वा साक्षीहरूसँग प्रत्यक्ष सोधपुछ गर्ने र स्वतन्त्र रूपमा प्रमाण संकलन गर्ने अधिकार हुनेछैन । यसको सट्टा, उनीहरूले केवल प्रहरीलाई पूरक अनुसन्धानका लागि अनुरोध गर्न सक्नेछन् । प्रहरीले त्यस्तो अनुसन्धान एक महिनाभित्र पूरा गरी नतिजाबारे सरकारी वकिललाई जानकारी दिनुपर्नेछ । आवश्यक परेको खण्डमा प्रहरीले अनुसन्धानको अवधि थप एक महिनासम्म बढाउन सक्ने प्रावधान समेत राखिएको छ ।

Leave a Reply

ताजा समाचार