भारतको नोएडास्थित एक आवासीय भवनमा आगलागी, दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार ३२ २०८३, शुक्रबार

भारतको नोएडास्थित एक आवासीय भवनमा आगलागी, दुई जनाको मृत्यु

भारतको राजधानी नयाँ दिल्ली नजिकै नोएडामा रहेको एक पाँचतले आवासीय भवनमा बुधबार आगलागी हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । नोएडाको सेक्टर ६६ मा अवस्थित उक्त भवनको भुइँतलामा रहेको पार्किङ क्षेत्रमा इलेक्ट्रिक स्कुटर चार्ज गर्ने क्रममा सल्किएको आगोले भीषण रूप लिएको प्रहरीको प्रारम्भिक अनुमान छ । पार्किङमा रहेका अन्य पेट्रोलजन्य दुई पाङ्ग्रे सवारी साधनमा आगो चाँडै सल्किएपछि स्थिति थप भयावह बनेको थियो । अधिकारीहरूका अनुसार, आगलागीका कारण भवनको सिँढी र कोरिडोरमा बाक्लो धुवाँ फैलिएपछि माथिल्लो तलामा रहेका बासिन्दाहरू बाहिर निस्कन नसकी भित्रै थुनिएका थिए । उद्धार कार्यमा आगोको ज्वालाभन्दा पनि तीव्र गतिमा फैलिएको बाक्लो धुवाँ मुख्य चुनौती बनेको बताइएको छ । प्रहरी र दमकलको टोलीले भवनबाट १०० भन्दा बढी व्यक्तिको सकुशल उद्धार गरेको छ । सातवटा दमकल, हाइड्रोलिक प्लेटफर्म र विशेष उद्धार सवारीसाधनसहित घटनास्थल पुगेको टोलीले आगो नियन्त्रणमा लिएको थियो । उक्त भवनमा करिब ५० परिवार बसोबास गर्दै आएका थिए । धुवाँका कारण श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका दुई जनालाई तत्काल जिल्ला अस्पताल पु¥याइए पनि चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए । प्रहरीले भवनका लीजधनी र सञ्चालकविरुद्ध लापरवाहीको अभियोगमा मुद्दा दर्ता गरी उनीहरूलाई नियन्त्रणमा लिएको छ । घटनाको यथार्थ कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भारतमा भवन निर्माण तथा सञ्चालनका क्रममा अग्नि सुरक्षा मापदण्डको बेवास्ता गर्ने र प्रज्वलनशील पदार्थको असुरक्षित भण्डारण गर्ने प्रवृत्तिले गर्दा आगलागीका घटनाहरू बारम्बार हुने गरेका छन् ।

Leave a Reply