क्रोएसियाली फुटबल महासंघ (एचएनएस) ले स्लाभेन बिलिचलाई राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेको छ । ५७ वर्षीय बिलिचले ज्लाट्को डालिचको स्थान लिनेछन्, जसले करिव नौ वर्षको सफल कार्यकालपछि पद त्याग गरेका हुन् । डालिच क्रोएसियाली फुटबल इतिहासकै सबैभन्दा सफल प्रशिक्षकका रूपमा बाहिरिएका छन् । उनको नेतृत्वमा क्रोएसियाले सन् २०१८ को विश्वकपको फाइनल यात्रा तय गरेको थियो भने सन् २०२२ को विश्वकपमा कास्य पदक र सन् २०२३ को यूईएफए नेसन्स लिगमा उपविजेताको स्थान हासिल गरेको थियो ।
नवनियुक्त प्रशिक्षक बिलिच यसअघि सन् २००६ देखि २०१२ सम्म क्रोएसियाको मुख्य प्रशिक्षक रहिसकेका छन् । उनको पहिलो कार्यकालमा क्रोएसियाले युरो २००८ र युरो २०१२ मा प्रतिस्पर्धा गरे तापनि सन् २०१० को विश्वकपमा भने स्थान बनाउन सकेको थिएन । लुका मोड्रिचलाई राष्ट्रिय टोलीको मुख्य खम्बाका रूपमा स्थापित गराउन बिलिचको महत्वपूर्ण भूमिका रहेको मानिन्छ । सन् २०१२ मा राष्ट्रिय टोली छाडेपछि उनले युरोप, एसिया र मध्यपूर्वका विभिन्न क्लबहरूमा प्रशिक्षण सम्हालेका थिए ।
पदभार ग्रहण गर्दै बिलिचले आफ्नो प्रमुख लक्ष्य टोलीलाई ठूलो सफलता दिलाउनु रहेको बताएका छन्। उनले आफ्नो योजनाका तीन आधार स्तम्भहरू स्पष्ट पारेका छन् । सुदृढ र व्यवस्थित फुटबल संघ, टोलीको प्रमाणित क्षमता र क्रोएसियाली फुटबलको गौरवशाली विरासत ।
आफ्नो आगामी योजनाबारे बोल्दै बिलिचले आफूले टोलीका प्रत्येक खेलाडी र विशेष गरी कप्तान लुका मोड्रिचसँग कुराकानी गर्ने बताए ।




