काठमाडौं ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न ? भनि दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सांसद राईले आफ्नो भनाईको शुरुमा नै सभामुखज्युले कान सुन्नुहुन्छ कि हुन्न ? भनि अभिव्यक्ति दिएपछि उहाँलाइे बोल्नबाट रोक लगाउँदै संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । दोस्रो बैठकको शुरुमा नै सभामुख अर्यालले उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन संघीय संसद सचिवालयलाई निर्देशन दिनुभएको हो । यस अघि बोल्दै सांसद राईले आफूले बोलेको शब्द सुन्न नपाउँदै आवेशमा आएर सभामुख अर्यालले आफ्नो माईक काटोको गुनासो गर्नुभएको थियो ।




