पाकिस्तानको पूर्वी शहर लाहोरस्थित एक निजी ट्युसन सेन्टरको छत भत्किँदा१४ बालबालिकाको मृत्यु भएको छ । मंगलवार भएको यस दुर्घटनामा अन्य कैयौँ बालबालिका घाइते भएका छन् । पूर्वी पञ्जाव प्रान्तको लाहोर नजिकैको काहना भन्ने क्षेत्रमा यो घटना भएको हो । उद्धार सेवा ‘रेस्क्यु ११२२’ का प्रवक्ता फारुक अहमदकाअनुसार दर्जनौँ बालबालिकाहरू ट्युसन पढिरहेको अवस्थामा अचानक भवनको छत खसेको थियो । छत भत्किँदा विद्यार्थी भग्नावशेषमा पुरिएका थिए । उद्धार अधिकारीहरूकाअनुसार हालसम्म १४ बालबालिकाको शव निकालिएको छ भने घाइतेमध्ये १० जनाको अवस्था चिन्ताजनक छ । घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । भग्नावशेषमा कोही पुरिएको हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै उद्धार कार्य जारी राखिएको अधिकारीहरूले बताएका छन् । लाहोरका प्रहरी नायब महानिरीक्षक (डीआईजी) फैसल कामरानले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार भवन निर्माण गर्ने ठेकेदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भवनको केही हिस्सा अझै निर्माणाधीन रहेको र मजदुरहरूले काम गरिरहेकै समयमा छत भत्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यसैबीच, पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । प्रधानमन्त्री सरिफले घाइते बालबालिकालाई उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई निर्देशन समेत दिनुभएको छ ।




