काठमाडौं ।
नेपाली काँग्रेसकी सांसद दुर्गा गुरुङले विकल्पविना भूमिहीन र सुकुम्बासीको उठीबास नगर्न सरकारसँग माग गर्नुभएको छ । राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै सांसद गुरुङले विकासका नाममा मानवीय संवेदनालाई बेवास्ता गर्दै नागरिकलाई सडकमा पु¥याउने कार्य लोकतान्त्रिक राज्यका लागि शोभनीय नभएको बताउनु भयो । सांसद गुरुङले देशका विभिन्न स्थानमा बल प्रयोग गरी घर भत्काउने र उठीबास गराउने घटनाहरू बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित, ज्येष्ठ नागरिक र बालबालिकाको उठीबास गराउँदा उनीहरूको जीवन कष्टकर बनेको तर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो । घर भत्काइँदा बालबालिकाको शिक्षा प्रभावित भएको, बिरामीले औषधि र उपचार गुमाएको तथा ज्येष्ठ नागरिकहरू असुरक्षित बनेको भन्दै उहाँले यस्ता गम्भीर र संवेदनशील विषयमा राज्य मूकदर्शक बन्न नहुने उल्लेख गर्नुभयो ।
सांसद गुरुङले वास्तविक भूमिहीन र अव्यवस्थित बसोबासीको पहिचान गरी शीघ्र जग्गा व्यवस्थापन गर्न र बल प्रयोगको सट्टा संवाद र सहमतिबाट समस्या समाधान गर्न आग्रह गर्नुभयो । सांसद गुरुङले किसानको श्रमको उचित मूल्य सुनिश्चित गर्न, कृषिको आधुनिकीकरण गर्न र प्रभावकारी किसानमैत्री नीति ल्याउन सरकारसँग माग गर्नुभयो । बालबालिकामाथि हुने हिंसा र दुव्र्यवहारका घटनाहरूको निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो ।–




