काठमाडौं, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हरेक पाईला विकासको बाटोमा अग्रसर हुने बताएका छन् । प्रधानमन्त्री ओलीले आफू दिन लाग्नका लागि कहिँकतै नजाने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
बुधबार काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित इन्द्रदह महोत्सवको उद्घाटन गर्दै उनले मुलुकको समग्र विकासमा मात्रै आफू केन्द्रित हुने प्रतिवद्धता समेत व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले स्थानीय जनताको उत्साहपूर्ण सहभागिताबाट मात्रै मुलुकमा विकास, निर्माणको कामले तीव्रता पाउने बताए । उनले ऐतिहासिक महत्वको इन्द्रदहमा वीर कालु पाण्डेको पूर्णकदको शालिक स्थापना गर्ने घोषणा गरे ।
त्यस क्रममा प्रधानमन्त्री ओलीले वीर कालु पाण्डेको समाधिस्थलको अवलोकनले आफूलाई मातृभूमिप्रतिको स्नेहको भाव जगाएको प्रतिक्रिया दिए ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको प्राचीन गढीहरु, वीर कालु पाण्डेको समाधिस्थल रहेकाले यस ठाउँलाई उत्सवमा रुपमा मनाउने गरिएको छ ।
यस क्षेत्रबाट निलगिरी, धौलागिरी, माछापुच्छ्रे, गौरीशंकर लगायतका विश्वकै प्रसिद्ध हिमालहरुको दृष्यावलोकन गर्न पाइन्छ ।