काठमाडौं ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नयाँ चलचित्र ऐनलाई समयसापेक्ष, व्यावहारिक र चलचित्रकर्मीहरूको चाहनाअनुरूप निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको विकासका लागि मौजुदा ऐनमा सुधार आवश्यक रहेको औँल्याउनुभएको हो । सञ्चारमन्त्री तिमिल्सिनाले चलचित्रले कुनै पनि राष्ट्रको आत्मा र समाजको मनोदशा प्रतिविम्बित गर्ने उल्लेख गर्नुभयो । चलचित्र क्षेत्रका समस्या, चुनौती र अपेक्षाहरूप्रति सरकार अत्यन्तै गम्भीर रहेको स्पष्ट पार्दै उहाँले यस क्षेत्रको सुधारका लागि सरोकारवालाहरूसँग बृहत्तर छलफल गरेर अगाडि बढ्न आफू तयार रहेको बताउनु भयो । मन्त्री तिमिल्सिनाले नयाँ चलचित्र ऐन सरकारको सहजताका लागि नभई समग्र चलचित्र क्षेत्रको हित र आवश्यकताका लागि ल्याउन लागिएको प्रष्ट पार्नुभयो ।




