काठमाडौं ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई औपचारिक माध्यममा ल्याउन र सामाजिक न्यायसहितको उदार अर्थतन्त्र सुदृढ गर्न करका नीतिहरू परिमार्जन गरिएको बताउनुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा आर्थिक विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो धारणा राख्नुभएको हो । अर्थमन्त्री वाग्लेले सार्वजनिक वित्तको सिद्धान्तअनुसार करका विभिन्न स्रोतहरूबाट संकलित रकम सञ्चित कोषमा जम्मा हुने र त्यसलाई सरकारले आवश्यकताअनुसार विवेकपूर्ण ढंगले परिचालन गर्ने स्पष्ट पार्नुभयो । वातावरणीय प्रदुषण वा पूर्वाधारका नाममा उठाइएका करहरू सोही क्षेत्रको विकास र क्षतिपूर्तिका लागि खर्च भइरहेको उदाहरण दिँदै उहाँले संसदको निर्देशनअनुसार विशिष्ट प्रयोजनका लागि ‘इयर मार्किङ’ गर्न पनि सरकार तयार रहेको बताउनु भयो ।
शिक्षा क्षेत्रमा लगाइएको करका सम्बन्धमा स्पष्ट पार्दै अर्थमन्त्रीले हाल निजी विद्यालयहरूमा ३ प्रतिशत कर लगाइएको जानकारी दिनुभयो । यसका साथै मध्यम वर्गीय परिवारलाई राहत दिन २५ हजार रुपैयाँसम्मको शिक्षा खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिइएको उहाँको भनाइ छ । वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानीलाई आयकर मुक्त गरिनुलाई उहाँले क्रान्तिकारी कदमको संज्ञा दिनुभयो । विद्युत क्षेत्रमा गरिएको लगानी र प्राप्त उपलब्धिबारे चर्चा गर्दै अर्थमन्त्रीले अब यो क्षेत्रलाई पनि करको दायरामा ल्याउनुपर्ने समय आएको बताउनु भयो । निजी क्षेत्रको ८० प्रतिशत हिस्सा रहेको विद्युत उत्पादनलाई व्यापार र प्रसारण लाइन विस्तारमा प्रोत्साहन गरिने उहाँले उल्लेख गर्नुभयो । विद्युत महशुलमा उपभोक्तालाई मार नपर्ने गरी नीति बनाइएको दाबी गर्नुभयो । पुँजी बजारमा देखिएको उतारचढावका विषयमा बोल्दै अर्थमन्त्रीले विगतका केही अनियमिततामाथि भइरहेको छानबिनका कारण लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको विश्लेषण गर्नुभयो ।
अर्थमन्त्री वाग्लेले वर्तमान सरकारले क्षणिक लोकप्रियताभन्दा पनि दीर्घकालीन सोचका साथ अर्थतन्त्रको औपचारिकीकरण र आधुनिकीकरणलाई प्राथमिकता दिएको बताउँदै भ्रममा नपर्न सांसदहरूलाई आग्रह समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल




