काठमाडौं ।
संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक शुक्रवार बस्दैछ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार दुवै सदनमा विभिन्न विधेयक, सन्धि–महासन्धि र बजेटमाथि छलफल हुने कार्यक्रम रहेको छ । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । सन्धि–महासन्धिसम्बन्धी कार्य अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी (जसले युवा, श्रम तथा रोजगार मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएको छ) ले दुईवटा महत्वपूर्ण महासन्धिहरू पेश गर्ने कार्यक्रम छ । जसमा ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१)’ र ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल (नं. २९)’ रहेका छन् ।
यता राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८३÷०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ हुनेछ । सोही बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१÷८२ को सातौँ वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची तय गरिएको छ। दुवै सदनको बैठक शुक्रबारका लागि तय गरिएको संसद सचिवालयले जनाएको छ ।




