काठमाडौं ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्ना मागहरू यथावत रहे पनि बजेट प्रक्रियालाई लामो समयसम्म नरोक्ने बताउनुभएको छ । प्रतिपक्षी दलहरूबीच भएको छलफलपछि बजेटलाई धेरै समयसम्म अल्झाइराख्नु उचित नहुने निष्कर्ष निकालिएको उनले जानकारी दिनुभयो । विगत १० दिनदेखि जारी राजनीतिक गतिरोधका सन्दर्भमा बोल्दै अध्यक्ष राईले सम्बन्धित पक्षले सदनमा उपस्थित भएर आफ्नो भनाइ सच्याउनुपर्ने अडान दोहो¥याउनु भयो । अध्यक्ष राईले प्रतिपक्षी दलहरूबीचको कार्यगत एकतामा जोड दिँदै आफूहरू एक्लै नभई अन्य दलहरूसँगको समन्वयमा अगाडि बढिरहेको स्पष्ट पार्नुभयो ।
माग पूरा नभएसम्म सदनमा विरोध प्रदर्शन जारी रहने भएपनि विकास र बजेटको प्रक्रियालाई निकास दिन पार्टीले लचकता अपनाउने उहाँको भनाइ छ । विगत केही समयदेखि श्रम संस्कृति पार्टी र अन्य विपक्षी दलहरूले विभिन्न माग राख्दै आएका कारण बजेट निर्माण र कार्यान्वयनको प्रक्रिया प्रभावित हुँदै आएको थियो ।




