काठमाडौँ ।
प्रतिनिधि सभाको बैठक बुधवार बस्दैछ । संघीय संसद सचिवालयले उक्त बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । जसमा बजेटमाथिको छलफल र विभिन्न महत्वपूर्ण विधेयकहरू प्रश्तुत गर्ने कार्यक्रम तय गरिएको छ । सचिवालयकाअनुसार बैठकको प्रारम्भमा सम्माननीय सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ । साथै, कार्यव्यवस्था परामर्श समितिमासदस्यहरूको नाम मनोनयन गरिएको जानकारी गराउने कार्यक्रम रहेको छ । बैठकमा सभामुखले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रिय सभाबाट निर्धारित अवधिभित्र फिर्ता नभएको जानकारी सदनलाई गराउनुहुनेछ । बुधवारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । उक्त प्रश्ताव प्रश्तुत भएपछि बजेटमाथि सामान्य छलफल प्रारम्भ हुनेछ र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्रीले दिनुहुने कार्यसूची रहेको छ । व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री डा. वाग्लेले विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावसहित ती विधेयकहरू सदनमा प्रश्तुत गर्नुहुनेछ ।
यसैगरी, बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची तय गरिएको छ ।




