काठमाडौँ ।
चीनभर आईतवारदेखि शुरु भएको राष्ट्रिय कलेज प्रवेश परीक्षाकमा करिव १२.९ मिलियन (१ करोड २९ लाख) विद्यार्थी सहभागी भएका छन् । चिनियाँ युवा पुस्ताका लागि यो परीक्षालाई उनीहरूको जीवनको एक महत्वपूर्ण कोशेढुङ्गा र सपना पछ्याउने माध्यमको रूपमा लिइन्छ । परीक्षालाई सुरक्षित, मर्यादित र सुव्यवस्थित रूपमा सम्पन्न गर्न चीन सरकारले देशभर विशेष सुरक्षा र सहयोगका उपायहरू अवलम्बन गरेको छ । परीक्षा केन्द्रहरू वरपर यातायात व्यवस्थापनलाई सहज बनाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । साथै, परीक्षाका क्रममा आउन सक्ने आकस्मिक समस्याहरूमा विद्यार्थीलाई सहयोग पु¥याउन स्वयंसेवक टोलीहरू पनि तयारी अवस्थामा राखिएका छन् । विद्युत आपूर्तिलाई निरन्तरता दिन विद्युत विभागले ड्रोन र इन्फ्रारेड क्यामेरा जस्ता आधुनिक प्रविधिको प्रयोग गरी परीक्षा केन्द्र वरपरका प्रसारण लाइनहरूको चौबीसै घण्टा अनुगमन गरिरहेको छ । विश्वकै ठूलो वार्षिक प्रतिष्पर्धात्मक परीक्षा मानिने गाओकाओले देशको परिवर्तनशील अर्थतन्त्र र सामाजिक आवश्यकताअनुसार आफ्नो मूल्याङ्कन पद्धतिलाई पनि परिमार्जन गर्दै लगेको छ । चीनको १५ औं पञ्चवर्षीय योजना (२०२६–२०३०) को खाकाअनुसार आगामी पाँच वर्षमा देशका प्रमुख विश्वविद्यालयहरूमा स्नातक तहका लागि १ लाखभन्दा बढी नयाँ सिटहरू थप गरिने लक्ष्य राखिएको छ । यसै क्रममा पूर्वी चीनको जियाङ्सी प्रान्तस्थित जियाङ्सी युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी दुर्लभ धातु (रेयर अर्थ) विज्ञान र इन्जिनियरिङमा स्नातक डिग्री प्रदान गर्ने देशकै पहिलो विश्वविद्यालय बनेको छ । उक्त विश्वविद्यालयको स्कुल अफ रेयर अर्थ’ का कार्यकारी डीन सियाओ यान्फेईकाअनुसार यस क्षेत्रको खनिज स्रोतको प्रचुरतालाई उपयोग गर्दै सम्बन्धित क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र उद्योगमा रहेको उच्चस्तरीय जनशक्तिको अभावलाई पूर्ति गर्ने उद्देश्य राखिएको छ । करोडौँ चिनियाँ युवाहरूका लागि यो राष्ट्रिय परीक्षा केवल एक शैक्षिक परीक्षा मात्र नभई उनीहरूको भविष्यको सपना साकार पार्ने एक निर्णायक खुड्किलो सावित हुँदै आएको छ ।




