कहाँ गयो नेपाली उत्पादन ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कहाँ गयो नेपाली उत्पादन ?

vegitable

काठमाडौं, ८ फागुन । विषादी प्रयोग भएको भारतीय तरकारी बिनारोकतोक सर्वसाधारणको भान्सामा पुगिरहेको अवस्थामा सरकारी तथ्यांकले भने नेपालमै मागभन्दा बढी तरकारी उत्पादन भएको देखाएको छ।

मागभन्दा बढी तरकारी उत्पादन भए पनि तरकारीको आयात भने रोकिएको छैन। प्रत्येक वर्ष अर्बौं मूल्यबराबरको तरकारी आयात भइरहेको छ। कृषि विकास मन्त्रालयको तरकारीसम्बन्धी तथ्यांकलाई केलाउँदा यस्तो तथ्य फेला परेको हो।

आव २०७३ \७४ मा नेपालमा ३१ लाख ८६ हजार ६ सय ८३ टन तरकारी उत्पादन भएको थियो। त्यही वर्ष भारतलगायत तेस्रो मुलुकबाट २१ अर्ब ५४ करोड पाँच लाख मूल्यबराबरको पाँच लाख ८१ हजार तीन सय २९ टन तरकारी आयात भएको छ। आन्तरिक उत्पादन र आयात भएको तरकारीको परिमाण जोड्दा ३७ लाख ६८ हजार १२ टन हुन आउँछ।

मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीकाअनुसार प्रतिदिन प्रतिव्यक्ति दुई सय ५० ग्रामका दरले एक वर्षमा ९१ किलो तरकारी आवश्यक पर्छ। नेपालको कूल जनसंख्या दुई करोड ८० लाख मानिसलाई एक वर्षमा २५ लाख ५५ हजार टन तरकारी आवश्यक पर्छ। उत्पादन र आयातको अवस्था हेर्दा देशभरको कुल मागभन्दा झन्डै १२ लाख १३ हजार किलो तरकारी बढी भएको अवस्था छ। नेपालका ७७ वटै जिल्लामा तरकारीको उत्पादन हुन्छ। तर तरकारी उत्पादनसम्बन्धी यथार्थ र बस्तुपरक तथ्यांक नहुँदा वास्तविक उत्पादन र खपतको अवस्थाबारे त्रुटिपूर्ण तथ्यांक आएको हो।

‘यति ठूलो परिमाणमा रहेको अतिरिक्त तरकारी कहाँ जान्छ यसमा गम्भिर प्रश्न चिह्न खडा भएको छ,’ तथ्यांक अधिकृत रेग्मीले भने, ‘केही परिमाणमा नेपालबाट अन्य मुलुकमा पनि तरकारी निर्यात हुन्छ। त्यो निर्यातलाई घटाए पनि मागभन्दा बढी नै तरकारी रहेको तथ्यांकले देखाएको छ।’ उनले तरकारी विकास निर्देशनालयले तयार पार्ने तरकारीको वार्षिक उत्पादनसम्बन्धी तथ्यांकलाई नै ‘त्रुटिपूर्ण’ मानेका छन्।

मागभन्दा बढी तरकारी उत्पादन स्वदेशमै भएको अवस्थामा अर्बौं मूल्यको तरकारी आयात गरी कहाँ खपत हुन्छ भनि वरिष्ठ तथ्यांक अधिकृत रेग्मीले आश्चर्यमा परेको उल्लेख गरे। तरकारी उत्पादनसम्बन्धी तथ्यांकलाई नै शंकाको घेरामा राख्नुपर्ने उनको ठहर छ। उनले भने, ‘यो विषयमा गम्भिर भएर मन्त्रालयमा छलफल गरी तथ्यांक लिने पद्धतीलाई अद्यावधिक गर्न सुझाव दिन्छु। तथ्यांक लिने पद्धती नै त्रुटिपूर्ण भएको मान्न सकिन्छ।’

मागभन्दा बढी तरकारी उत्पादन हुने गरेको सरकारी तथ्यांक भए पनि नेपालमा हरेक वर्ष भारत, चीन, बंगलादेशलगायत देशबाट तरकारी आयात हुँदै आएको छ। राष्ट्र बैंक र तरकारी विकास निर्देशनालयले उपलब्ध गराएको तथ्यांक पनि एक आपसमा बाँझिएको अवस्थामा फेला परेको छ। निर्देशनालयले आर्थिक वर्ष २०७१\ ७२ मा ३५ लाख ८० हजार टन तरकारी उत्पादन भएको तथ्यांक उपलब्ध गराएको छ भने राष्ट्र बैंकको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार सोही वर्ष ३० लाख ८८ हजार एक सय आठ टन तरकारी उत्पादन भएको छ।

यस्तै २०७२ \ ७३ मा निर्देशनालयले ३८ लाख २० हजार टन तरकारी उत्पादन भएको जनाएको छ भने सोही वर्ष सर्वेक्षणअनुसार ३१ लाख ५५ हजार तीन सय २३ टन तरकारी फलेको छ। तरकारी विकास निर्देशनालयका कार्यक्रम निर्देशक रमिता मानन्धरले तथ्यांकबारे आफूलाई धेरै जानकारी नभएको भन्दै पन्छिइन्। उनले भनिन्, ‘निर्देशनालयमा म केही महिनाअघि मात्रै आएको छु, विस्तृत अध्ययन गर्न पाएकी छैन। अध्ययन गरेर मात्रै भन्न सक्छु।’

कुल आयातमध्ये तीन चौथाई भारतबाट

नेपालमा आयात हुने कुल तरकारीमध्ये करिब ७५ प्रतिशत हिस्सा भारतीय तरकारीले ओगटेको छ। भारतबाहेक बंगलादेश, चीन, थाइल्यान्ड, म्यानमार, रुस, भुटान, टर्की, यूके, भियतनाम, फ्रान्स, कोरिया, अस्ट्रेलिया, क्यानाडालगायत मुलुकबाट केही मात्रामा तरकारी आयात हुन्छ। विश्वका अन्य मुलुकले तरकारी आयात गर्दा नाकामै तरकारीको गुणस्तरसम्बन्धी परीक्षण गरेर मात्रै देशभित्र भित्र्याउने मापदण्ड कार्यान्वयनमा ल्याइसकेका छन्।

तर, नेपालमा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने कुनै पनि तरकारीको परीक्षण गरिँदैन। यसले विषादी र आर्सेनिकयुक्त तरकारी सजिलै नेपाल भित्रिने गरेको छ। नेपाली उपभोक्ताले अत्यधिक मूल्य तिरेर आफैं घातक प्रकृतिका रोग खरिद गरिरहेका छन्। नेपालमा भारतसहित तेस्रो मुलुकबाट एक आर्थिक वर्षमा २१ अर्ब ५४ करोड पाँच लाख ८० हजार मूल्यबराबरको झन्डै पाँच लाख ८१ हजार टन हाराहारीमा तरकारी आयात हुन्छ। आलु, प्याज र लसुनसहित हरियो तरकारी प्रायः भारतबाट आयात हुने गरेको छ। यस्तै चीनबाट प्याज र लसुन तथा बंगलादेशबाट गोलभेंडा आयात हुन्छ।

कृषि विकास मन्त्रालयका सचिव डा सुरोज पोखरेलले तरकारीको उदगम बिन्दुको क्वारेन्टाइन सर्टिफिकेटका आधारमा तरकारी आयात भइरहेको दाबी गरे। तर नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले क्वारेन्टाइनको सर्टिफिकेट र परीक्षण बिना नै निर्वाध रूपमा तरकारी आयात भइरहेको जानकारी दिए।

उनले भने, ‘नेपाल भित्रिने तरकारीको कुनै पनि स्थानमा कुनै पनि परीक्षण हुँदैन। भन्सारमा क्वारेन्टाइनसम्बन्धी सर्टिफिकेट पनि चाहिँदैन। भारतमा लोड भएपछि सिधै नेपाली बजारमा भित्रिन्छ।’आजको अन्नपुर्णपोष्टमा यस्तो खवर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);