डेनमार्कमा मेटे फ्रेडरिक्सनको नेतृत्वमा नयाँ सरकार गठनः मन्त्रिमण्डलमा महिलाको बहुमत | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८३, शुक्रबार

डेनमार्कमा मेटे फ्रेडरिक्सनको नेतृत्वमा नयाँ सरकार गठनः मन्त्रिमण्डलमा महिलाको बहुमत

डेनमार्कमा प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले आफ्नो तेस्रो कार्यकालका लागि नयाँ सरकार गठन गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार २१ सदस्यीय नयाँ मन्त्रिमण्डलमा प्रधानमन्त्रीसहित ११ जना महिला रहेका छन्, जुन कूल सदस्य संख्याको आधाभन्दा बढी हो । प्रधानमन्त्री फ्रेडरिक्सनले कोपेनहेगनस्थित अमालियनबोर्ग दरबारमा राजा फ्रेडरिक दशौँसमक्ष नयाँ मन्त्रिमण्डलका सदस्यहरूलाई प्रश्तुत गर्नुभएको थियो । मार्च २४ मा सम्पन्न संसदीय निर्वाचनपछि करिव ६९ दिनको लामो राजनीतिक रस्साकसी र वार्ता पश्चात यो गठबन्धन सरकार बनेको हो । डेनमार्कको इतिहासमा सरकार गठनका लागि लागेको यो अहिलेसम्मकै लामो समय हो ।
नयाँ सरकारको कार्यविभाजनअनुसार मेटे फ्रेडरिक्सनले प्रधानमन्त्रीको रूपमा निरन्तरता पाउनुभएको छ । त्यस्तै ग्रीन लेफ्टकी पिया ओल्सेन डाइर आर्थिक मामिला तथा गृह मन्त्री नियुक्त हुनुभएको छ । मोडरेट्स पार्टीका लार्स लोक्के रासमुसेन परराष्ट्र मन्त्रीमा यथावत हुनुहुन्छ भने सोसल लिबरल पार्टीका मार्टिन लिडेगार्डलाई व्यापार तथा प्रतिष्पर्धात्मकता मन्त्रीको जिम्मेवारी दिइएको छ । गत संसदीय निर्वाचनमा फ्रेडरिक्सनको सोसल डेमोक्र्याट्स सबैभन्दा ठूलो दलका रूपमा उदाए पनि कुनैपनि राजनीतिक ब्लकले स्पष्ट बहुमत प्राप्त गर्न सकेका थिएनन् । सोही कारण चार दलको सहभागितामा यो नयाँ गठबन्धन सरकार निर्माण गरिएको हो ।
सरकारले सार्वजनिक गरेको नीतिगत दस्ताबेजमा ग्रिनल्याण्डमाथि भइरहेको अस्वीकार्य दबाब प्रति ध्यानाकर्षण गर्दै ग्रिनल्याण्डको स्वायत्त सरकारसँग मिलेर सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र आत्मनिर्णयको अधिकारका पक्षमा दृढतापूर्वक उभिने उल्लेख गरिएको छ ।
यसका साथै, सरकारले खाद्य सामग्रीको मूल्य घटाउने, न्यून आय भएका वृद्धवृद्धाहरूलाई थप सहयोग गर्ने, संस्थागत कर कटौती गर्ने, विद्यालयहरूको स्तरोन्नति गर्ने र डेनिस लगानीलाई प्रोत्साहन गर्ने जस्ता कार्यक्रमहरू प्राथमिकतामा राखेको छ । नयाँ सरकारले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम १५ वर्षको उमेर हद तोक्ने योजनासमेत अघि सारेको छ ।

Leave a Reply

ताजा समाचार