काठमाडौं,७ फागुन । ७० मेगावाट जडित क्षमताको अर्धजलाशययुक्त आयोजना मध्यमस्र्याङ्दी जलविद्युत केन्द्र मर्मतका लागि सात देखि दश दिन बन्द हुने भएको छ ।
केन्द्रको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिको संरचनाको मर्मतका लागि फागुन १० बाट बन्द गर्न लागिएको हो । मध्यमस्र्याङ्दीको विद्युत उत्पादन बन्द भएपनि यसका कारणले आम उपभोक्तालाई लोडसेडिङ गर्नु नपर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कुलेखानी जलाशयमा पानीको सतह १५२१.९८.मिटर छ, जुन गतवर्षको यही अवधिको तुलनामा करिव ३ं.८३ मिटर बढी हो ।
कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगावाट विद्युत उत्पादन हुन्छ । मध्यमस्र्याङदीको बाँधको बायाँतिरको भागमा पानीले हिर्काएर खोतल्दा पहिले बनाइएको संरचनामा क्षति पुगेको छ । केन्द्रबाट विद्युतको माग बढी हुने साँझ र बिहानको समयमा ७० मेगावाट र अन्य समयमा करिव ३० मेगावाट विद्युत उत्पादन हुन्छ ।




