काठमाडौँ ।
नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले वर्तमान सरकारलाई जनमतको सम्मान गर्दै संसदप्रति उत्तरदायी बन्न आग्रह गर्नुभएको छ । बुधवार संसद भवन परिसरमा बोल्दै विपक्षी बेन्चबाट रचनात्मक र सशक्त भुमिका निर्वाह गर्ने स्पष्ट पार्दै उहाँले सरकारका कामकारबाही संविधान र नियमावलीसम्मत हुनुपर्नेमा जोड दिनुभएको हो । प्रमुख सचेतक महरले एमाले सधैँ विरोधका लागि विरोध गर्ने परम्पराको पक्षमा नरहेको उल्लेख गर्दै सरकारले जनहित र संविधान कार्यान्वयनमा गर्ने सकारात्मक कार्यलाई समर्थन गर्ने बताउनु भयो । यद्यपि, सरकारले संविधानभन्दा माथि रहने कोशिस गरेमा वा स्वेच्छाचारी र तानाशाही प्रवृत्ति देखाएमा सशक्त आलोचना गर्ने उहाँको भनाइ छ ।
प्रतिनिधि सभा नियमावली र संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री नियमित रूपमा संसद्मा उपस्थित भई सांसदहरूका प्रश्नको जवाफ दिनुपर्ने महरले बताउनु भयो । सत्तापक्षका मुख्य सचेतकले गरेको प्रतिवद्धताअनुसार प्रधानमन्त्री संसद्मा आउने विश्वासमा आफूहरूले सदनको कामकारबाही अघि बढाउन सहयोग गरेको उहाँले स्पष्ट पार्नुभयो । प्रमुख सचेतक महरले मुलुकमा व्याप्त महँगी, बेरोजगारी र युवा पलायनजस्ता गम्भीर समस्या समाधानमा सरकार चुकेको आरोप लगाउनुभएको छ । पछिल्लो तीन महिनामा मात्रै तीन लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा जानु दुःखद् रहेको भन्दै उहाँले राष्ट्रिय गौरवका आयोजना, उत्तर–दक्षिण कोरिडर र हुलाकी राजमार्ग जस्ता भौतिक पूर्वाधारको सुस्त गतिप्रति प्रश्न उठाउनु भयो ।




